दाङमा १५ जना औलोरोगका बिरामी फेला

Posted on: 27 Apr, 2018

वैशाख १४ तुलसीपुर, दाङ | दाङमा बितेको नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । 

गत वर्ष भने जिल्लामा ३४ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका औलोरोग निरीक्षक कमल चन्दले जानकारी दिनुभयो । 

उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा औलोरोगका बिरामी घट्दै जानु सकारात्मक रहे पनि तर दाङ जिल्ला औलो रोगको जोखिममा रहेको बताउनुभयो । सो रोग निवारण गर्नका निम्ति जिल्लाका सरोकारवाला निकाय, नागरिक समाज, स्थानीयतहका जनप्रतिनिधि सबैको सहयोग आवश्यक रहेको पनि चन्दले बताउनुभयो । 

सबैको सहयोगले मात्र नेपाललाई सन् २०२५ सम्म औलो निवारण गर्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्कअनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करीब ५० हजार मानिस प्रभावित हुने गर्छन् । त्यसमध्ये २७ प्रतिशतको ज्यान औलो रोगकै कारण जाने गरेको छ । औलोका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका रहेका छन् ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!