दाङ जिल्ला अझै औलोको जोखिममा

Posted on: 27 Apr, 2018

वैशाख १४ तुलसीपुर दाङ | दाङमा नौ महिनाको अवधिमा १५ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । 

गतवर्ष जिल्लामा ३४ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ कार्यालयका औलो रोग निरीक्षक कमल चन्दले जानकारी दिनुभयो । 

उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा औलो रोगका बिरामी घट्दै जान सकारात्मक रहे पनि दाङ जिल्ला औलो रोगको जोखिममा रहेको बताउनुभयो । सो रोग निवारण गर्नको निम्ति जिल्लाका सरोकारवाला निकाय, नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि सबैको सहयोग आवश्यक रहेको पनि चन्दले बताउनुभयो । 

सबैको सहयोगले मात्र नेपाललाई सन् २०२५ सम्म औलो निवारण गर्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ छ । 

विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्कअनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करीब ५० हजार मानिस प्रभावित हुने गर्दछन् । त्यसमध्ये २७ प्रतिशतको ज्यान औलो रोगकै कारण जाने गरेको छ । औलोका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका रहेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!