देहरादूनबाट ल्याइएको दत्तात्रेय मूर्ति चन्दननाथमा पुनःस्थापन

Posted on: 28 Apr, 2018

वैशाख १५, सुर्खेत (रासस) | जुम्लाको चन्दननाथ मन्दिरमा भारतको देहरादूनबाट दत्तात्रेयको मूर्ति ल्याएर पुनःस्थापन गरिएको छ । 

विसं २०७३ मंसिर ११ गते राति कर्णालीको धार्मिकस्थल चन्दननाथ मन्दिरबाट १८ केजीको दत्तात्रेयको मूर्तिसहित २१ थान अन्य मूर्ति चोरी भएका थिए । चोरी भएकामध्ये अन्य मूर्ति देपालगाउँ गाविस, देपालगाउँ नजिकैको खोलामा २०७३ पुस १९ गते बेबारिसे रुपमा फालिएको अवस्थामा भेटिएका थिए । चोरी भएकामध्ये सबैभन्दा ठूलो दत्तात्रेयको मूर्ति हालसम्म कतै नपाइएपछि देहरादूनबाट ल्याएर चन्दननाथ मन्दिरमा पुनःस्थापना गरिएको चन्दननाथ भैरवनाथ गुठी संस्थानका सचिव रमानन्द आचार्यले बताउनुभयो । सत्ताइस मूर्तिमध्ये दत्तात्रेयसहित छ मूर्ति पाइएका थिएनन् । 

मूर्ति हराएको डेढ वर्षसम्म मन्दिर खाली भएको र त्यसका विषयमा कोही कसैले चासो नदेखाएपछि देहरादूनबाट बाबा भवानी गिरीले आफ्नै लगानीमा दुई पण्डितसहित पित्तलबाट निर्मित दत्तात्रेयको मूर्ति जुम्ला पुर्याउनुभएको हो । उक्त मूर्ति विधिवत् रुपमा मन्दिरमा पुनःस्थापना गरिएको सचिव आचार्यले बताउनुभयो । 

यही वैशाख १३ गते बिहान ९:४५ बजेदेखि २७ घण्टे अखण्ड हवनसमेत मन्दिरभित्र चलाइएको थियो । दत्तात्रेयको मूर्ति व्यक्तिगत रुपमा ल्याएर प्रतिस्थापन गर्दा समेत सरकारी क्षेत्रको कुनै चासो नभएको धार्मिक सरोकार भएकाको गुनासो छ । 

हराएका बहुमूल्य मूर्तिको अनुसन्धान गरी पत्ता लगाउन नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले प्रत्यक्ष जिम्मा लिई स्थलगत अनुसन्धान थालेको थियो । बहुमूल्य चाँदीले बनेको र सुनको गजुर भएको मूर्ति पत्ता लगाउन ढिलाइ भएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिनुभयो । पन्धौँ शताब्दीमा सिद्ध चन्दननाथ बाबाले कालीमार्सी धान रोप्ने क्रममा चन्दननाथको पूजा आरम्भ गरेदेखि निरन्तर पूजा भइरहेको धार्मिक व्यक्तित्वको भनाइ छ । चन्दननाथ बाबाले जुम्ला राज्यका संस्थापक कल्यालवंशी राजा बलिराज शाहीको राजतिलक लगाएको समेत ऐतिहासिक प्रमाणमा रहेको जानकार बताउँछन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!