रोल्पामा यस्तो छ - सुरक्षित प्रसूतिको अवस्था

Posted on: 29 Apr, 2018

वैशाख १६, रोल्पा (रासस) | सुरक्षित प्रसूतिका लागि भन्दै सरकारले जिल्लामा ६३ वटा वर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । 

नागरिकको सुविधालाई मध्यनजर गर्दै सकेसम्म कम दूरी रहने गरी स्थापना भएका ती वर्थिङ सेन्टरमा प्रसूति गराउनेको संख्या आधाभन्दा कम छ । 

अघिल्लो वर्ष गर्भवती भएकामध्ये ५० प्रतिशतले मात्र वर्थिङ सेन्टरमा पुगेर प्रसूति गराए । प्रसूतिका लागि वर्थिङ सेन्टर जाने गर्भवतीको संख्यामा क्रमिक सुधार हुँदै आए पनि अवस्था सन्तोषजनक भइनसकेको बताइएको छ । 

आर्थिक वर्ष ०६९/०७० मा करीब ३४ प्रतिशत, ०७०/०७१ मा करीब ३७ प्रतिशत, ०७१/०७२ मा करीब ४७ प्रतिशत र आव ०७२/०७३ मा ४८ प्रतिशत गर्भवतीले प्रसूति सेवा लिन स्वास्थ्य संस्थामा आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

विगत पाँच वर्षको तथ्यांक हेर्दा प्रसूति सेवा लिने आमाको संख्यामा वृद्धि भएको देखिए पनि यो मात्रा निकै सुस्त देखिन्छ । वर्थिङ सेन्टर समयमै नबन्नु, भौगोलिक विकटता रहनु र जनशक्ति व्यवस्थापन हुन नसक्दा धेरै आमालाई प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म ल्याउन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । 

त्यसो त नियमित चार पटक गर्भजाँच गराउने गर्भवती महिलाको संख्या पनि जिल्लामा निकै कम देखिएको छ । चार महिना, छ महिना, आठ महिना र नौ महिनामा गर्भवती जाँच गराउनु पर्नेमा पहिलो गर्भजाँच गराउनेको संख्या अत्यधिक देखिए पनि दोस्रो, तेस्रो र अन्तिम गर्भजाँच गराउनेको मात्रा घट्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डाँगीले जानकारी दिनुभयो । 

अघिल्लो वर्ष ९० प्रतिशत गर्भवतीले पहिलो गर्भ जाँच गरे । सोही वर्ष नियमति रुपमा अन्तिमसम्म गर्भ जाँच गर्ने गर्भवतीको संख्या भने ४० प्रतिशत मात्र रहेको सो कार्यालयले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!