भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार

Posted on: 30 Apr, 2018

वैशाख १७ रोल्पा | भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । 

रोल्पा नगरपालिका–९ ह्वामाका १३ वर्षीय दीपक डाँगी र सुवास डाँगीलाई इँटाभट्टामा श्रम गरिरहेको अवस्थामा बाल विकास समाज भक्तपुरको सहयोगमा उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो । 

पढ्ने उमेरका बालकले इँटाभट्टामा काम गरेको देखेपछि उद्धार गरी रोल्पा नगरपालिकाको रोहवरमा आफन्तको जिम्मा लगायौँ बाल विकास समाज भक्तपुरका बाल संरक्षण अधिकृत भरत थापाले भन्नुभयो । 

बालश्रम गरिरहेका बालकलाई बाल विकास समाज भक्तपुरले उद्धार गरेसँगै आफूहरूको रोहवरमा बालकका अभिभावकलाई जिम्मा लगाइएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । बालक दीपकलाई बुबा गोपाल डाँगी र सुवासलाई आमा दिलपुरा डाँगीको जिम्मा लगाइदियौँ प्रमुख केसीले भन्नुभयो । 

गत चैतमा भएको कक्षा ४ को अन्तिम परीक्षा दिएका उनीहरू लहलहैमा इँटाभट्टा पुगेको बताइएको छ । बालकका दिदीहरू सोही इँटाभट्टामा काम गर्ने भएकाले उनीहरू पनि भागेर त्यहाँ पुगेको नगर प्रमुख केसीले बताउनुभयो । उद्धारसँगै उनीहरूलाई विद्यालय भर्ना गरिने बताइएको छ । 

विगतमा नगरपालिकाभित्रबाट इँटाभट्टामा जाने बालबालिकाको संख्या धेरै रहे पनि पछिल्ला दिनमा यो संख्या कम हुँदै गएको नगर प्रमुख पूर्ण केसीले बताउनुभयो । आर्थिक अभावका कारण इँटाभट्टामा जाने र साथीभाइको लहलहैमा भागेर इँटाभट्टामा जाने गरी दुईथरिका बालश्रमिक रहेका छन् । 

आर्थिक अभावका कारण इँटाभट्टामा बालश्रम गर्ने रोल्पाली बालबालिकाको संख्या ४०० बढी रहेको बताइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!