सुर्खेतमा अस्पतालको लापरबाहीले पेटको बच्चासहित गर्भवतीको मृत्यु

Posted on: 04 May, 2018

दीपेन्द्र शर्मा/वैशाख २१ सुर्खेत | सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको उपचार नपाएर मुत्यु भएको छ । 

कालीकोट महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रबार बिहान मृत्यु भएको हो । 

उनी सामान्य अवस्थामा सुत्केरी गराउनाका लागि बिहीबार बिहान ११ बजे क्षेत्रीय अस्पतालमा भर्ना भएकी थिइन् । राति १२ बजेसम्म पनि डाक्टर नआएकाले अस्पतालकै लापर्वाहीका कारण मृत्यु भएको मनिषाका श्रीमान् जगत सिंहले बताउनुभयो । बिहानै अस्पताल भर्ना गरे पनि डाक्टरले कुनै वास्ता नगरेको सिंहको आरोप छ । 

छिटो सुत्केरी गराउन नर्सले सूई दिएको र पानी बग्दै जाँदा श्रीमतीको मृत्यु भएको सिंहले बताउनुभयो । “बिरामीले बरु छोरा चाहिँदैन तर मलाई बचाइदेऊ भन्दा पनि अस्पतालले बेवास्ता गरेको, समयमा शल्यक्रिया नगरेको, नाक मुखबाट रगत बगेको अवस्थामा गर्भवतीको मृत्यु भएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार अहिलेसम्म मृतक बच्चा मृतक सिंहको पेटभित्र नै रहेको छ । 

सामान्य अवस्थामै रहँदा जाँच गराउन अस्पताल आएकी श्रीमतीको गुप्ताङ्गबाट पानी बगेको भनी हात हालेर पानी पोका फुटालेर भर्ना गरेको श्रीमान्को आरोप छ । अस्पतालमा दिनभरि मनिषाले आफूलाई बचाइदिन भन्दै हारगुहार गर्दा राति १ बजेसम्म पनि डाक्टर उपचारका लागि नआएको उहाँको भनाइ छ । 

अस्पतालले लापर्वाही गरेको भन्दै मृतकका आफन्तले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । 

उपचारमा लापर्वाही गर्नेलाई कडाभन्दा कडा कारवाही तथा मृतकका छोरा र छोरीको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने उनीहरुको माग छ । 

फोक्सोमा पानी जम्दा गर्भवतीेको मृत्यु: अस्पताल 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा डम्बर खड्काले फोक्सोमा पानी जमेका कारण मनिषाको मृत्यु भएको बताउनुभएको छ । 

गर्भवतीको उपचारमा अस्पतालबाट कुनै लापर्वाही नभएको डा खड्काको भनाइ छ । उहाँले मृतकका आफन्तले लगाएको आरोप अस्वीकार गर्नुभएको छ । उहाँका अनुसार अस्पतालका कारण नभई पानी पोका आफैँ फुटेर फोक्सोमा पानी गएकाले मनिषाको मृत्यु भएको हो । 

पाँच दिनदेखि मरेको बच्चा पेटमा 

दैलेखको ठाँटीकाँध गाउँपालिका–१ कोशेरीकी नन्दकली विक (चाकुरी)का पेटमा पाँच दिनदेखि दुई बच्चा मृत अवस्थामा रहेका छन् । 

दैलेखको ठाँटीकाधमा जाँच गराउँदा डाक्टरले पेटमा रहेका बच्चाको मृत्यु भएको बताएपछि विक अस्पतालमै उपचारका लागि भर्ना हुनुभएको छ । 

वैशाख १७ गते दैलेखमै जाँच गराएर १८ गते चाकुरी र उहाँका श्रीमान् हरि विक क्षेत्रीय अस्पताल सुर्खेतमा आउनुभएको हो । 

सुर्खेतको विरेन्द्रनगरमा १९ गते पुनः भिडियो एक्सरे गर्दा दुईवटै बच्चा मृत भएको जानकारी अस्पतालका डाक्टरले दिएको विकका श्रीमान् हरिले बताउनुभयो । अस्पतालले औषधि किनेर ल्याउनुस् मृत बच्चा निकाल्नुपर्छ भनेको र अहिलेसम्म पनि चाकुरीको शल्यक्रिया हुन नसकेको उहाँले बताउनुभयो । अस्पतालले भने अवस्था हेरेर शल्यक्रिया गरिने बताएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!