उपराष्ट्रपति मार्फत उपहार भन्दै दोलखामा क्रिस्चियन धर्मको प्रचार (भिडियो सहित)

Posted on: 04 May, 2018

ताराबहादुर महत । बैशाख २१, दोलखा । विद्यार्थी बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपहार वितरणको नाममा धर्म प्रचारका सामाग्री वितरण गरेको पाईएको छ । 

गत मंगलबार दोलखाको शैलुङ्ग गाउँपालिका वडा नम्बर ८ मा रहेको शारदा माविको भवन उद्घाटन कार्यक्रममा दयाका हातहरु नेपाल नामक गैरसरकारी संस्थाले उपराष्ट्रपति नन्दबहादुर पुन मार्फत शैक्षिक सामाग्री भन्दै बालबालिकाहरुलाई क्रिश्चियन धर्म प्रचारका सामाग्री वितरण गरेको हो । उपराष्ट्रपति पुनले शैलुङ्ग गाउँपालिकाका विभिन्न विद्यालयका आधा दर्जन बढी विद्यार्थी बालबालिकाहरुलाई शैक्षिक सामाग्रीको नाममा धर्म प्रचारका सामाग्री वितरण गर्नुभएको थियो ।


दयाका हातहरु नेपालका परियोजना प्रबन्धक शान्तकुमार भण्डारीका अनुसार संस्थाले गाउँपालिकाका ८ वटा विद्यालयका दुई हजार बढी बालबालिकाकालाई वितरण गर्ने तयारी रहेको छ । सामाग्री वितरण पश्चात्त उपहारका बट्टामा अधिकांश धर्म प्रचारका सामाग्री भेटिएकोले उक्त सामाग्री वितरणमा प्रतिबन्ध लगाईएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिनुभयो । उहाँले अनुमतिबिना सामाग्री वितरण गरेको र प्रतिबन्ध लगाईएपछि पनि वितरण गरेको पाईएमा संस्थालाई गाउँपालिकाबाटै हटाउने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘पाँच हजार बट्टा उपहार वितरणका लागि ल्याईएको छ भन्ने मलाई जानकारी छ, अझ अरुले त आठ हजार बट्टा ल्याईएको बताएका छन ।’

परियोजना प्रबन्धक भण्डारीकै अनुसार पनि दुई हजार वटा उपहारसहितको बट्टाको मुल्य २० लाख रुपैँया भन्दा माथि हुन जान्छ, जो धर्म प्रचारका लागि खर्च गरिएको छ । नेपाल सरकारको अनुमतिमा उपहार सामाग्री ल्याईएको दाबी गरेपनि गाउँपालिकालाई जानकारी नै नदिई सामाग्री वितरण गर्नुले धर्म प्रचारको उद्धेश्य प्रष्ट भएको छ । कानेट नेपाल नामक संस्थाको सहयोगमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री र खेलौनाहरु वितरण गर्न ल्याईएको प्रबन्धक भण्डारीको भनाई छ । नेपाल सरकारको अनुमति र कर छुटमा ल्याईएको उपहार सामाग्री जिल्ला शिक्षा कार्यालयको अनुमति लिएर बाँडेको संस्थाले जनाएको थियो ।

कार्यक्रमको तालिकामा नै नभएको उपहार वितरण गर्ने काम कार्यक्रमको अन्त्यमा गरिएको थियो । सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किएकोमा चिन्ता व्यक्त गरीरहनुभएका उपराष्ट्रपति मार्फत धर्म प्रचारका सामाग्री वितरण गराईएको हो । सिंगापुर रेडक्रसको आर्थिक सहयोगमा दयाका हातहरु नेपाल नामक संस्थाले २ करोड ५० लाख रुपैँया लागतमा बनाएको १२ कोठे २ तले आधुनिक विद्यालय भवन उद्घाटनका लागि हेलिकप्टर मार्फत उपराष्ट्रपति पुन दोलखा आउनुभएको थियो ।

एक दशक अघि नै नेपाल धर्म निरपेक्ष घोषित भईसकेको भएपनि षडयन्त्रपुर्ण तबरले बालबालिकाको कलिलो मस्तिष्कमा धर्मको बिउ रोप्नुले देशमा धार्मिक द्वन्द्व निम्त्याउने जोखिम नबढ्ला भन्न सकिन्न । पुननिमार्णमा सहयोग गर्ने नाममा आएको गैरसरकारी संस्थाले विकासको आडमा धर्मको खेती गर्नु पशुपतिको जात्रामा सिद्राको व्यापार भनेजस्तै भएको छ । अर्कोतर्फ उपराष्ट्रपति जस्तो विशिष्ठ व्यक्तिले आफूले हस्तान्तरण गर्ने सामाग्रीको बारेमा किन जानकारी राखिएन भन्ने प्रश्न हरेक नागरिकको मनमा उब्जिएको छ । 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!