पत्रकार महासंघ प्रदेश नं ७ को पहिलो अध्यक्षमा शाह

Posted on: 05 May, 2018

वैशाख २२, बैतडी | नेपाल पत्रकार महासंघ प्रदेश नं ७ को ऐतिहासिक पहिलो प्रदेश निर्वाचनबाट अध्यक्षमा अर्जुन शाह निर्वाचित हुनुभएको छ । 

शाहले ३७९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी हरि जोशीले २६२ मत प्राप्त गर्नुभएको छ । शाहले ११७ मतान्तरले जोशीलाई पराजित गर्नुभयो । बैतडीमा ४५ मत खसेकामा शाहले ३२ तथा जोशीले १३ मत प्राप्त गर्नुभयो । दार्चुलामा ३९ मत खसेकामा शाहले नौ र जोशीले ११ मत प्राप्त गर्नुभयो भने १९ मत बदर भएका छन् । 

डडेल्धुरामा शाहले २४ तथा जोशीले ३५ मत प्राप्त गर्नुभएको छ । बझाङमा ३७ मत शाहले तथा चार मत जोशीले प्राप्त गर्नुभएको छ । डोटीमा शाहले १८ तथा जोशीले २२ मत प्राप्त गर्नुभयो । 

अछाममा शाहले ५३ तथा जोशीले २७ मत प्राप्त गर्नुभयो । बाजुरामा २७ मत शाहले प्राप्त गर्दा जोशीले १८ मत प्राप्त गर्नुभयो । कैलालीमा १०० मत शाहले प्राप्त गर्दा जोशीले ४३ मतमात्रै प्राप्त गर्नुभयो । 

कञ्चनपुरमा शाहले ७९ मत प्राप्त गर्नुभयो भने जोशीले ८९ मत प्राप्त गर्नुभएको छ । प्रदेश नं ७ मा अरु पदका लागि भने प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको सहमतिमा निर्विरोध निर्वाचित भएका थिए । 

अध्यक्ष पदका लागिमात्रै भएको निर्वाचनमा दुबै प्रेस चौतारीका उम्मेदवार हरि जोशी र अर्जुन शाह भिड्नुभएको हो । प्रेस चौतारी नेपाल, प्रेस युनियन र प्रेस सेन्टर तीनवटै संगठनले देशभरका सबै प्रदेश, उपत्यका र एशोसिएट कमिटीमा भागबण्डा गरेका थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!