रोल्पाको सुकी दह ३ बन्यो देशकै पहिलो हरित वडा

Posted on: 07 May, 2018

वैशाख २४, रोल्पा | रोल्पाको सुकी दह गाउँपालिका–३ ले वडाभित्र रहेका सम्पूर्ण घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा घोषणा गरेको छ । 

वडाभित्र रहेका ७०० घरधुरीलाई हरियो रंगले पोतेसँगै हरित वडा घोषणा गरिएको वडाध्यक्ष जलेशकुमार केसीले जानकारी दिनुभयो । “वडालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्नका लागि घरलाई एउटै रंगले पोतेका हौँ”, वडाध्यक्ष केसीले भन्नुभयो, “वडा नै हरियो हुँदा देशमै फरक पहिचान दिन सफल भएका छौँ ।” 

सो वडा देशकै प्रथम हरित वडा भएको सचिव कमलराज वलीले दाबी गर्नुभयो । “वडा कार्यालयको नेतृत्वमा वडावासीको स्वतःस्फूर्त सहभागितामा अभियान थालिएको हो”, वलीले भन्नुभयो । पूर्ण सरसफाइको प्रारम्भिक खुड्किलो पार गरे पनि यसलाई दिगो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

वडाका सबै घर हरियो हुँदा वडाको रुप रंग नै फेरिएको छ । हरियो रंगलाई स्वच्छ वातावरणको प्रतीक मानिने भएकाले वडालाई स्वच्छ सफा र हराभरा बनाउन हरियो रंगले घर रंगाइएको जनाएको छ । वडाले गरेको आग्रहअनुसार वडावासी सबैले आफ्नो घर हरियो बनाएको वडा कार्यालयले बताएको छ ।

प्रदेश नं ५ सांसद दीपेन्द्र पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर वुढा, जिल्ला स्तरीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी देशकै प्रथम हरित वडा तथा जिल्लाको पहिलो पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!