आचार्य श्रीनिवास पक्राउ, आफैले गोली हान्न लगाएको खुलाशा

Posted on: 07 May, 2018

वैशाख २४, काठमाडौँ | गत महिना चैतको २५ गते गोली लागेर घाइते भएका हिन्दू धर्मगुरु आचार्य श्रीनिवास आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका छन् । 

मोरङ प्रहरीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले धर्म गुरु श्रीनिवासलाई गोली हान्नेहरुको अनुसन्धान गर्दा श्रीनिवास आफैले योजना बनाएर गोली हान्न लगाएको खुलाशा भएपछि उनलाई अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चितवन भरतपुर ४ बस्ने २९ वर्षीय माधव चौधरी र नवलपरासी गैँडाकोट ५ का ३२ वर्षका सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई गोलीसहितको पेस्तोल दिएर आचार्यले आफैँलाई गोली हान्न लगाएका थिए ।

मोरङका एसपी अरुण बीसीका अनुसार गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए ।  उनीहरुले दिएको बयान अनुसार उनिहरुलाई आचार्य श्रीनिवासले नै योजना बनाएर गोली हान्न लगाएको बताएका छन् । 

उनलाई चैत २५ गते बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको थियो । उनलाई गोली हानेको स्थानमा ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा समेत भेटिएको थियो । उक्त पर्चामा ‘भारतको दलाली गर्नेहरुलाई ठेगान लगाउने अभियान’ शुरु गरेको उल्लेख थियो । 


माथिको तश्विरमा: यस अघि गोली लागि घाइते भएर न्यूरो अस्पताल विराटनगरमा उपचाररत श्रीनिवास ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!