न्याय माग्न गएकी युवती प्रहरीबाटै अन्यायमा परिन्

Posted on: 07 May, 2018

वैशाख २४, सर्लाही । न्यायका लागि गएकी एक युवती प्रहरीको हातबाट कुटिएकी छन् । सर्लाहीको मलगंवामा प्रेम विवाह गरेकी दलित युवती आफ्ना प्रेमी सित छुट्टिएर बस्न नमानेपछि प्रहरीको हातबाट कुटिएकी हुन् । 

प्रहरीको कुटाइबाट घाइते भएकी युवतीको जिल्ला अस्पताल मलंगवामा उपचार गरिएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका जिल्ला अध्यक्ष राजेश पासवानका अनुसार न्याय माग्न गएकी युवतीलाई प्रहरीले कुटेको थियो । ईश्वरपुर नगरपालिका वडा नं.४ फुलजोर घर भएकी १८ वर्षिया युवती सरस्वती अछामीको स्कुलमा पढ्ने बेला सोही नपाका वडा नं.५ सागरनाथका विकास कटुवाल सँग प्रेम सम्बन्ध गाँसिएको पासवानले बताए । 

सरस्वती तल्लो जातकी भएकीले विकासको घरपरिवारले दुवैको प्रेम सम्बन्धलाई अस्विकार गरेका थिए । उनीहरु भागेर गत २०७४ साल  मंसिर १ गते भारतको दिल्ली पुगेका थिए ।  केही दिनपछि विकासका बुवा विष्णु कटुवाल र उनी सँगै गएका यादव कटुवालले सरस्वतीलाई थाहा नदिइ केटालाई सर्लाही ल्याए । प्रेमीले आफुलाई छाडेर गएको बारे सरस्वतीले काम गर्दै आइरहेकी घरबेटीलाई जानकारी गराएपछि उनले प्लेनको टिकट कटाएर दिल्लीबाट नेपाल पठाइदिइन् । 

घर पुगेपछि उनी वैशाख ४ गते श्रीमान् फिर्ता पाउँ भनि उजुरी लिएर इलाका प्रहरी कार्यालय ईश्वरपुरमा गइन्  । प्रहरीले उनलाई ११ गते केटालाई झिकाएर छलफल गर्ने भनेर पठाए तर केटालाई झिकाउन सकिएन । त्यस पछि उक्त मुद्दा जिल्ला प्रहरी कार्यालय मलंगवा पठाइयो । त्यहाँ दुवै पक्षलाई बोलाएर छलफल गराइयो । केटाका अभिभावकले प्रहरीको रोहवरमा दुवै जनालाई छुट्टाउनको लागि तयार पारिएको कागजमा जबर्जस्ती औंठा छाप(ल्याप्चे)लगाउन लगाइएको पीडित युवतीले रुँदै बताइन् । केटा(विकास) पनि केटी (सरस्वती ) बिना बाँच्नै नसक्ने भन्दै प्रहरी कार्यालयबाट बाहिरिने बित्तिकै मलंगवामै रहेको एक मन्दिरमा विवाह गरिन् । दुवै जना छुट्टिन नमानेपछि सँगै रहेका प्रहरीले केटीको चुल्ठो (कपाल) समातेर सार्वजनिक स्थलमै निर्ममता पुर्बक कुटपिट गरे । 


उनलाई प्रहरी सहायक निरिक्षक आरआरपी सिंहले कुटपिट गरेको पीडितकी आमा बुद्धमाया तोलङ्गीले बताएकी छिन् । युवतीको उपचार जिल्ला अस्पतालमा चलिरहँदा केटालाई उनका अभिभावकले आफु सँगै लगेको अध्यक्ष पासवानले बताए । उता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले भने यस विषयमा आफुलाई कुनै पनि जानकारी नभएको बताए । उपचार पश्चात् पीडित सरस्वतीलाई शनिबार घर लगिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!