पुरुषको शव फेला, घाँस काट्दा हात छिनियो

Posted on: 08 May, 2018

वैशाख २५, बनियानी, झापा | झापाको बिर्तामोडमा एक पुरुषको शव फेला परेको छ । 

बिर्तामोड–७ स्थित बुधबारे हटियाको गोस लाइनमा नाम थर नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पुरुष सोही स्थानमा मागेर गुजारा गर्दै आएका थिए । 

शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

घाँस काट्दा हात छिनियो 

यसैगरी, सोमबार घाँस काट्ने क्रममा बाह्रदर्शी गाउँपालिका–५ कट्टडाँगीका १७ वर्षीय सद्दाम हुसेनको बायाँ हात काटिएको छ । सोही स्थानका दिनेश थापाको गाई फार्ममा मेशिनमा घाँस काट्ने क्रममा हुसेनको बायाँ हातको कुहिनादेखिको तलको भाग काटिएको प्रहरीले जनाएको छ । हुसेनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

यस्तै, शिवसताक्षी–१० स्थित कनकाई पुल नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १७ प ८०९९ नंको मोटरसाइकल पछाडि सवार दमक–५ की ३० वर्षीया सविना राईले घाइते भएकी छन् । राई आफैँले लगाएको सल पछाडिको चक्कामा बेरिएपछि मोटरसाइकलबाट लडेर उनी घाइते भएको जिप्रका, झापाले जनाएको छ । 

घाइते राईको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!