दिक्तेल–ओखलढुंगा सिधा यातायात सञ्चालनमा आउने

Posted on: 08 May, 2018

चिसाङ शेर्पा/बैशाख÷२५ खोटाङ | खोटाङबाट ओखलढुंगा सिधा यातायात शुरुवात हुने भएको छ । जिल्लाभित्रका तथा जिल्ला बाहिरका यात्रुहरुको माग अनुसार बुधबारदेखी दिक्तेल–ओखलढुंगा सिधा बस सञ्चालनमा आउने भएको हो ।

खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङका अनुसार दिक्तेलदेखी प्रत्येक दिन बिहान ६ बजे र ओखलढुंगाबाट प्रत्येक बिहान साँढे ६ बजे बस छुट्नेछ । महासचिव  हिङमाङले भने, ‘हालका लागि भाडादर आठसय रुपैयाँ निर्धारण गरिएको छ ।’ 

यसभन्दा अघि छिमेकी जिल्ला सोलुखुम्बु र आखेलढुंगाका यात्रुहरु खोटाङसम्म आवातजावत गर्नुपर्दा ओखलढुंगाको हिलेपानीमा ओर्लनुपर्ने तथा घण्टौसम्म बस कुर्नुपर्ने बाध्यता थियो । भोलीदेखी ओखलढुंगासम्म चल्ने बसमा दिक्तेलबाट हुर्लुङ, नुनथला, महुरे, बिजुले, अर्खौले, हलेसी, जयरामघाटसम्म स्थानियलाई यात्रा गर्नसमेत सहज हुने यातायात व्यवसायी संघले जनाएको छ ।

२०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरबाट झुण्डाएर ल्याईएको दुई मिनीट्रकबाट शुरु भएको जिल्लाको यातायात दश बर्षमा आईपुग्दा दुइ नगरपालिका, आठ गाउँपालिकामै गाडी गुडिरहेको छ । जिल्लामा अहिले तीनसय बढी सानाठूला सवारी साधन सञ्चालनमा रहेको छ । 

ओखलढुंगा र खोटाङको सिमानामा पर्ने प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा मोटरेवल पक्की पुल बनेपछि जिप तथा बस दैनिक १७ गाडी दिक्तेलबाट छुट्ने गरेको छ हाल जिल्लाबाट दिक्तेल–काठमाण्डौ, दिक्तेल–धरान, दिक्तेल–विराटनगर सिधा यातायात सञ्चालनमा रहेको छ । निकट समयमै दिक्तेल–सोलुखुम्बु, दिक्तेल–काकड्भिट्टासम्म सिधा यातायात सञ्चालन हुने महासचिव हिङमाङले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!