पहाडीलाई अदालतमा हाजिर हुन आदेश

Posted on: 10 May, 2018

वैशाख २७, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव वीरबहादुर कुँवर ‘सुरेश पहाडी’ लाई सुर्खेत जिल्ला अदालतले हाजिर हुन म्याद थप गरेको छ । वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित कांग्रेस नेताको घरमा जुवा खेलिरहेका सचिव कुँवर फरार भएपछि अदालतमा ३० दिनमा हाजिर हुन म्याद थप गरेको हो ।

वैशाख २३ मा जुवाको खालबाट कांग्रेस नेतासहित तीनजना पक्राउ परेका थिए । उनीहरूबाट ३४ हजार ५०० नगद र मोबाइल पनि बरामद गरिएको थियो । पक्राउ परेका तीनजना धरौटीमा रिहा भएका छन् । जुवा खालबाट प्रमुख स्वकीय सचिव कुँवर भाग्न सफल भए पनि प्रहरीले कुँवरको ९८६८३५९५१० नम्बरको मोबाइल र पैसा भने बरामद गरेको थियो । कानुनमा जुवा खेलाउनेलाई ३०० र जुवा खेल्नेलाई २०० जरिवाना हुन्छ । मुद्दा प्रमाणित भएमा मात्रै उक्त जरिवाना तिर्नुपर्ने प्रावधान छ । १५ र १५ दिनमा दुइपटक उपस्थित हुनका लागि फरार रहेका कँुवरलाई कर्मचारीले पत्र बुझाउने र अदालतमा हाजिर नभएको खण्डमा फरार सूचीमा नाम राखिने सुर्खेत अदालतका रजिष्ट्रार वीरन्द्रबहादुर मल्लले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!