मुगुमा भिरबाट लडेर एकको मृत्यु, एक घाईते

Posted on: 12 May, 2018

नन्द बहादुर रोकाया | वैशाख २९, मुगु | मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर ६ को बन्जाया भन्ने स्थानमा शुक्रवार भिरबाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन ।

सोरु गाउँपालिका ६ जिमा गाउँका ३५ वर्षीय कर्णबहादुर लावड सोरुकोटबाट जिमा तर्फ फर्कदैं गर्दा मोडधारा भन्ने स्थानमा भिरबाट १ सय २० मिटर तल खस्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । उनिसंगै आएका काला लावड भिरबाट खसे पनि बाँच्न सफल भएका छन । मृतक लावड  घरबाट चामल किन्न सोरुकोट गएका थिए भने काला फोतु गाउँबाट फर्किएका थिए । दुवै जनाको सोरुकोटमा भेट भएको र उनिहरुले मदिरा सेवन गरेर घर फर्कदैं गरेका थिए । दुबै जनाले एक आपसमा हात समाएर हिड्दै गर्दा दुवै जना भिरबाट १ सय २० मिटर तल खसेका थिए । 

भिरबाट खस्दा कर्णको घटना स्थलमा मृत्यु भएको र काला गम्भीर घाईते भएको काला लावडका काका प्रेम लावडले जानकारी दिए ।मृतक लावडको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ भने गम्भीर घाईते भएका काला लावडको पनि जिल्ला अस्पतालमा उपचार भई रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!