बम विस्फोटको आरोपमा झापाबाट एकजना पक्राउ

Posted on: 13 May, 2018

वैशाख ३० झापा | झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । 

अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । बिहान करीब ३ बजे प्रालिको बस ग्यारेजमा सकेट बम विस्फोटबाट प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नं को बस, गाडीको डिजल ट्यांकी, झ्यालका सिसा र टायरमा क्षति पुगेको जनाइएको छ । 

यता नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको बिहान समान्य असर परेको थियो । बिहान लामो तथा छोटो दूरीका सवारी नचले पनि बिहान १० बजेदेखि यातायात चल्न थालेका छन् भने बजार तथा पसल खुलेका छन् । 

उता दमक नगरपालिकास्थित दमक बस पार्कमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । 

सानो गोलो आकारको कालो रङको शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शंकास्पद वस्तु पहिचानका लागि नेपाली सेनाको बम निष्क्रिय टोली घटनास्थल पठाइसकिएको प्रहरी कार्यालयले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!