म्याग्दीको एक विद्यालयको भवन पुनःनिर्माणका लागि एक करोड सहयोगमा

Posted on: 16 May, 2018

जेठ २, म्याग्दी | आगलागीबाट क्षतिग्रस्त भएका एक विद्यालयको पुनःनिर्माणका लागि कोरियाली संस्थाले रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । 

एक वर्ष अघि आगलागीबाट क्षतिग्रस्त भएका म्याग्दी बेनी नगरपालिका–४ डाँडाखेतस्थित बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि दक्षिण कोरियाका ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउण्डेशनले सो रकम सहयोग गरेको हो । 

कोरियामा रहेका म्याग्देलीको सक्रियतामा फाउण्डेशनले उक्त विद्यालयको दश कोठे भवन निर्माणका लागि सो रकम सहयोग गरेका हुन् । फाउण्डेशनका अध्यक्ष छो थे याङ र वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले मंगलबार एक समारोहमा विद्यालय भवनको शिलान्यास गर्नुभयो । 

सो अवसरमा फाउण्डेशनका अध्यक्ष याङले विद्यालय भवन जलेर नष्ट भएपछि विद्यार्थीहरु खुल्लाचौरमा पढ्दै गरेको तस्वीरले आफू स्तब्ध भएको उल्लेख गर्दै “विद्यालयका लागि समुदायले पनि धेरै गर्नुभएको छ, हामीले पनि आफ्नो क्षेत्रबाट सहयोग गर्नेछौँ” भन्नुभयो । 

विद्युत् सर्ट भएर आगलागी भएपछि विद्यालय भवन पुनःनिर्माणका लागि आर्थिक सहयोग संकलन अभियानमा सक्रिय रहनुभएका विद्यालयका पूर्वविद्यार्थी एंव एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक विनोद कुँवर र उहाँकी भाइबुहारी संगीता कार्की कुँवरको पहलमा फाउण्डेशनले सो रकम सहयोग गरेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले बताउनुभयो । 

आगलागीबाट कक्षा कोठा, कार्यालय, कम्प्यूटर ल्याब र पुस्तकालयसहित आठ कोठे दुई तले भवन पूर्णरुपमा जलेर नष्ट हुँदा रु ९२ लाख मूल्य बराबरको क्षति भएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!