बलेवा–काठमाडौंको हवाई भाडा घट्यो

Posted on: 17 May, 2018

जेठ ३ बागलुङ | हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ । 

नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु पाँच हजार ६०० कायम गरेको छ । काठमाडौँदेखि बलेवा उडानको भाडा रु पाँच हजार ८०० तोकिएको छ । यसअघि निगमले दुवैतर्फको उडानमा प्रतियात्रु रु ६ हजार ५०० भाडा लिँदै आएको थियो । 

भाडा महँगो भएको गुनासो बढेपछि भाडादर घटाउन एयरलाइन्स कम्पनीलाई दबाब परेको हो । बागलुङ नगरपालिकाले भाडा समायोजनका लागि नागरिक उड्डयन प्राधिकरणसँग माग गर्दै आएको थियो । नगरपालिकाकै विशेष पहलमा बन्द भएको २६ वर्षपछि गत चैतबाट विमानस्थल सञ्चालनमा आएको हो । 

नेपाल वायु सेवा निगम र तारा एयरलाइन्सको विमानले हाल सातामा दुई पटक उडान भर्दै आएका छन् । ताराको विमानले आइतबार र नेपाल एयरलाइन्सको विमानले बिहिबार उडान भर्दैआएको छ । 

नेपाल एयरलाइन्सपछि तारा एयरलाइन्सले पनि भाडा घटाउने विश्वास लिइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । हाल ताराको भाडादर प्रतियात्रु रु ६ हजार ७०० कायम छ । विमानस्थल सञ्चालनमा आएपछि बलेवा–काठमाडौँ यात्रा जम्मा ४० मिनेटमा छोटिएको छ । विमानस्थलबाट अत्यावश्वक कामकाजी व्यक्ति र बिरामीले बढी लाभ लिएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!