सामाजिक सञ्जालमार्फत ठगी गर्ने गुल्मीका एक युवा पक्राउ

Posted on: 17 May, 2018

जेठ ३ बागलुङ | सामाजिक सन्जाल ‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आउनुभएकी ३५ वर्षीया विष्णु नेपालीलाई रु २५ लाख चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीको मालिका गाउँपालिका–६ का २८ वर्षीय पोमबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

खत्रीले चिट्ठा परेको रु २५ लाख पाउन नेपालीलाई रु एक लाख गुल्मीमा रहेको प्रभु बैंकको खातामा जम्मा गर्न भनेका थिए जसमध्ये नेपालीले पहिलो किस्ताबापतको रु ३५ हजार बैंकमा जम्मा गरिसक्नुभएको थियो । खत्रीले दोस्रो किस्ता रकम माग गरेपछि आफू ठगिएको हुनसक्ने आशंकामा नेपालीले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिनुभएको थियो । 

नेपालीको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीमार्फत खत्रीलाई नियन्त्रणमा लिइएको बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताउनुभयो । ठगी घटनाका आरोपित खत्रीलाई बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याई थप अनुसन्धान अघि बढाइएको छ । 

“यस्तै प्रकृतिको अन्य ठगी घटनामा खत्रीको संलग्नताबारे अनुसन्धान गरिरहेका छौँ,” प्रनाउ थापाले भन्नुभयो । प्रहरीका अनुसार खत्रीले प्रभु बैंक शाखा कार्यालय गुल्मीमा रहेको खाता नं १२९१०७०१०१४६३४०००००१ मा रकम जम्मा गरी चिट्ठाको रकम प्राप्त गर्न सकिने जानकारी नेपालीलाई गराएका थिए । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!