अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग निर्माण ठप्प

Posted on: 20 May, 2018

जेठ ६, ताप्लेजुङ | स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग आयोजना अन्तर्गतको सडक निर्माण केही दिनदेखि रोकिएको छ । 

फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केही व्यक्तिले अवरोध गरेका कारण मंगलबारदेखि सडक निर्माणको कार्य रोकिएको हो । यसअघि बस्ती नै जोखिममा पर्ने भन्दै निवेदन गरेका उनीहरुले अहिले फेरि लेलेपको बस्तीतर्फ घुमाएर लानुपर्ने भन्दै काममा अवरोध गरेको बताइएको छ ।

यसअघि बस्तीबाट बाटो घुमाउँदा उठिबास हुने भन्दै उनीहरुले नै विवाद निकालेपछि गाउँपालिकाले छलफल गरेर अहिले निर्माण भइरहेकै ठाउँ (बस्तीको दायाँ भाग) बाट अघि बढाउने गरी सहमति गराएको थियो । 

आयोजनाअन्तर्गत ट्र्याक खोल्न बाँकी तापेथोकदेखि ओलाङचुङगोलासम्मको खण्डमा केही महिनाअघि देखि निर्माण कार्य भइरहेको छ । तीव्र गतिमा निर्माण भइरहेको सडक बस्तीको माथिल्लो भाग गुम्बाडाँडामा पुगेपछि स्थानीयवासीले अवरोध पुर्याएको र उनीहरुसँग समन्वयको प्रयास भइरहेको लोकमार्ग आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजना भएकाले र यसअघि पनि सहमति जनाइसकेकाले अब सानातिना विवादले काम नरोकिने उहाँको भनार्इ थियो ।

यता फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले बस्तीबाट बाटो लाने वा नलाने बारे स्थानीयवासी नै विभाजित भएको भन्दै सहमति गराउनेतर्फ प्रयास भइरहेको बताउनुभयो । रु ३६ करोडको लागतमा निर्माणको जिम्मा पाएको एलाइट कम्पनीले निर्धारित समयमा नै काम सक्ने गरी तीनवटा डुलोजर लगाएर काम अघि बढाइरहेको छ । ओलाङचुङगोलामा सडक जोडिन अब झण्डै ३२ किलोमिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!