सुनसरीमा आगलागीबाट तीन करोडको क्षति

Posted on: 21 May, 2018

इटहरी, ७ जेठ | सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातबाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । 

राती १२:१५ बजेभन्दाअगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गर्दै इलाका प्रहरी कार्यालय इटहरीले आगो फैलिएपछि घटना थाहा भएको र तत्कालै इटहरी धरान इनरुवा र मोरङको सु्न्दरहरैचाको चारवटा बारुणयन्त्रले राति २ बजे आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले बताएको छ । 

प्रहरी निरीक्षक राजन कार्कीका अनुसार आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयवासी, व्यापारी व्यवसायीलगायतको सक्रिय सहभागिता रहेको थियो । पुरुषोत्तम काफ्लेको घरमा भएको पसल आगलागीमा सबैभन्दा बढी समुद्र राईको तयारी कपडा पसलको झण्डै रु दुई करोड बढीको नोक्सानी भएको उहाँले बताउनुभएको प्रहरीले जनाएको छ । 

यसैगरी उक्त आगलागीमा समुद्र राईसँगैका सटर पसल गर्दै आउनुभएका गजराज श्रेष्ठको पनि लाखौँको तयारी कपडा पसलमा नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको र अझै क्षतिको एकीन विवरण लिने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । 

एक वर्षअघि पनि अहिले आगलागी भएको ठीक उत्तरतर्फ करोडौँको नोक्सानी हुने गरी आगलागी भएको थियो । आगोलाई समयमा नै नियन्त्रण गर्न सफल भएकाले अरु ठूलो नोक्सानी हुन नपाएको बताइएको छ । आगलागी भएको स्थान इटहरीको घना व्यापारिक क्षेत्र हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!