३३ किलो सुन प्रकरण: गोरेले दिए यस्तो बयान, अब के हुन्छ ?

Posted on: 22 May, 2018

जेठ ८,काठमाडौं । ३३ किलो सुन प्रकरण र सनम हत्याका मुख्य अभियुक्त चूणामणि उप्रेती ‘गोरे’ले आफू ठूलो सुन तस्कर नभइ भरिया मात्र भएको बताएका छन् ।


मंगलबार बिहान पक्राउ परेका गोरेले छानबिन समितिलाई दिएको बयानमा आफूले तस्करीको सुन व्यवस्थापन गर्ने र क्यारिङ गर्नेमात्र गरेको बताएको समिति स्रोतले जानकारी दिएको छ।

बयानमा गोरेले भने, ‘मेरा बारेमात्र धेरै कुरा आए । मभन्दा माथि काम गर्ने अरु पनि छन् । उनीहरुको बारेमा पनि खोल्नु पर्छ ।’

बयानमा गोरेले फागुन पहिलो साता अनामनगरबाट लुटिएको ३३ किलो सुन मोहन अग्रवालकै रहेको बताएका छन् ।

‘फागुन ९ गते विमानस्थल हुदै आएको ३३ किलो सुन मोहनकै हो, त्यो सुन ठाउँमा पुर्या‍उने जिम्मा मेरा केटाहरूको थियो, सेटिङ मैले गरिदिएको हो, सुन लुटियो त्यसमा भुजुङ गुरुङ समूहको हात छ, मलाई सिध्याउन सुन लुटिएको हो,’ समितिसँगको बयानमा गोरेले भनेका छन् ।

बयानमा गोरेले भने, ‘मलाई मुख्य मान्छे भनिएको छ, म नै ठूलो मान्छे होइन, अदालतमा मुद्दा दायर भएका ६३ जनामा केही जनासँग मिलेर काम गर्ने गरिन्थ्यो, एकै दिनमा ८६ किलोसम्म सुन ल्याएका थियौं ।’

उनले भुजुङ गुरुङसँग पछिल्लो समयमा नराम्रो हुदै गएको पनि बताएका छन् ।

भुजुङ र उनको सालो छिरिङले आफूलाई फसाउन खोजेको र त्यही सिलसिलामा ३३ किलो सुन लुटिएको गोरेले बताए ।

गोरेले आफूसँग मिलेर काम गर्ने केही व्यक्तिको बारेमा पनि समितिलाई सुचना दिएका छन् ।तीमध्ये केही उच्च प्रहरी अधिकारी पनि छन् ।

समितिका संयोजक ईश्वरराज पौडेलले गोरेले दिएको सूचनाका आधारमा पक्राउ पर्न बाँकी भएकालाई कानुनी दायरामा ल्याइने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!