११ औं गण्तन्त्र दिवस

Posted on: 29 May, 2018

आर्थिक र सामाजिक बिकासमा जोड

जेठ १५, सुर्खेत । कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले कर्णालीबासीले आर्थिक, सामाजिक र न्यायिक समानता पाउनुपर्नेमा जोड दिएका छन् । रोग, भोक र शोकबाट आक्रान्त कर्णालीलाई समृद्ध बनाउने अवसर आएको बताउँदै सबैलाई त्यसतर्फ अग्रसर हुने प्रेरणा मिलोस् भन्दै शुभकामना पनि दिए ।

मंगलबार कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा ११ औं गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खनालले तत्कालिन राजा ज्ञानेन्द्रले नेपालको संविधान २०४७ र बहुदलको घाँटी निमोठेको परिणाम स्वरुप गणतन्त्र आएको र गणतन्त्रले जनतालाई स्वतन्त्रता, समानता प्रदान गर्ने गरी गणतन्त्रलाई फलाउन सबैलाई उनले आग्रह गरे ।

राज्य व्यवस्थाका कारण देश नबनेको भन्दै शसस्त्र विद्रोह भएको र जनआन्दोलन भई सहिदहरुको सहादतबाट गणतन्त्र प्राप्त भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । कानूनभन्दा माथि तत्कालिन शासकहरु भएका कारण देशको बिकास नभएको स्मरण गर्दै शाहीले अब देश बनाउने जिम्मा सार्वभौमसत्ता सम्पन्न आम नेपाली जनताको काँधमा आएको उल्लेख गरे ।

मुख्यमन्त्री शाहीले गणतन्त्र आएपछि जनताले आफ्नो शासन आफैले गरेका, स्वतन्त्रता पाएका उल्लेख गर्दै गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने र यो दिवसलाई उत्साहको पर्वको रुपमा लिनुपर्ने बताए । मुख्यमन्त्री शाहीले सरकारले हरेक महिनाको १ र १५ गते श्रम दिवस मनाउने गरेको तर अरुको साथ र सहयोग नपाएको गुनासो पोखे ।  

उनले कर्णालीको सरकारबाट अन्य सरकारले श्रमप्रति सम्मान गर्न सिकुन र त्यसबाट देशको समृद्धि होस भन्ने चाहेर उक्त अभियान सुरु गरिएको दाबी गरे । समारोहमा सहभागि भएकाहरुलाई स्वागत मन्तव्य दिदैं आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णालीमा आफूहरु सिरानीमा सुन राखेर सुतिरहेको बताउँदै अब उक्त सुनलाई आकार दिन सुनारको आवश्यकता परेको बताए । उनले अब्बल प्रदेश बनाउने महाअभियानमा सरकार लागि परेको बताउँदै त्यसका लागि सरकार एक्लैले चाहेर नहुने प्रष्ट्याए ।

कर्णाली प्रदेश बनाउन आफ्नो ज्यान बलिदानी दिने ४ जना शहिदहरुलाई कर्णाली प्रदेशले मरोणपरान्त कदर पत्रद्धारा सम्मान गरेको छ । सम्मानित हुने सहिदहरुमा गोपाल सिंह रजवार, टिकाराम गौतम, यामबहादुर विसी र हरिबहादुर कुँवर रहेका छन् । सहिदहरुका आफन्तलाई प्रदेश प्रमुख खनाल र मुख्यमन्त्री शाहीले सम्मान गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!