मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा दाजुको पनि मृत्यु

Posted on: 30 May, 2018

जेठ १६, पाँचथर ।  पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ । 

मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । 

मंगलबार मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–७, टारीमा पुग्दा पिकअपबाट खसेर घाइते भएका उनको उपचारका लागि पाँचथर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । 

उकालो बाटोमा पिकअपको पछाडि भागमा भाइको शवसँगै बसेका उनको गाडीको गियर परिवर्तन गर्दा खसेको प्रहरीले जनाएको छ । दुई वर्षअघि काम गर्न मलेसिया पुगेका भाइ देवीप्रसादको मलेसियामा एक हप्ताअघि गाडी दुर्घटनाबाटै ज्यान गएको बताइएको छ । 

घटनापछि गाडी र चालकलाई जोरपोखरी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरीक्षक वामदेव गौतमले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!