माथिल्लो सोलु हाइड्रोपावरको ताला ११ दिनपछि खुल्यो

Posted on: 30 May, 2018

जेठ १६ सोलुखुम्बु | माथिल्लो सोलु हाइड्रोपावरको फिल्ड कार्यालयमा लागेको ताला ११ दिनपछि मंगलबार खुलेको छ । 

आयोजनाले पार्टीको नाममा शेयर जारी गरेको भन्दै स्थानीय प्रभावितले गत जेठ ६ गते फिल्ड कार्यालयमा ताला लगाएका थिए । आयोजना र स्थानीय प्रभावितबीच विभिन्न विषयमा सहमति भएसँगै ताला खोलिएको सोलुदूधकुण्ड नगरपालिका–२ का वडाध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो । 

जिल्लाका तीन ठूला पार्टीको नाममा रु छ करोडको शेयर जारी गरेको भन्दै जनप्रतिनिधिसहितको टोलीले विरोधसहित स्थानीयको नाममा शेयर जारी गर्नुपर्ने एकसुत्रीय माग राख्दै ताला लगाएको थियो । आयोजनाले कुनै पनि पार्टीको नाममा शेयर जारी नगरेको भन्दै मंगलबार भएको सहमतिअनुसार अब जारी हुने शेयर जनताको नाममा हुने सहमति पत्रमा उल्लेख गरिएको छ । 

यस्तै, आयोजनाले अतिप्रभावित र प्रत्यक्ष प्रभावितकालागि संस्थापक शेयरबापत चार लाख कित्ता शेयर वितरण गर्ने, साधारण शेयरसमेत सोलुदूधकुण्ड नगरपालिकालाई नियमअनुसार वितरणका लागि नियामक निकायसमक्ष पहल गर्ने सहमतिपत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । 

सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा तथा विभिन्न वडाका वडाध्यक्षसहितको उपस्थितिमा गरिएको सहमति पत्रमा प्रभावितका तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष मिङ्मार शेर्पा र वडा नम्बर ४ का वडाध्यक्ष दावागेलु पाख्रिनले हस्ताक्षर गर्नुभएको छ भने आयोजनाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शशीसागर राजभण्डारीले हस्ताक्षर गर्नुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!