भक्तपुरबाट नक्कली परीक्षार्थीसहित रकम असुल्ने पक्राउ

Posted on: 31 May, 2018

जेठ १७ भक्तपुर | यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित ‘इजीवे’ ट्रायल सेन्टरमा सञ्चालित परीक्षामा मोटरसाइकलको (ट्रायल) परीक्षा दिन आएका दुई नक्कली परीक्षार्थी र पास गराइदिन्छु भन्ने गिरोहमध्येको एक जनालाई प्रहरीले पक्राउ गरेको हो । 

यातायातका कर्मचारी, परीक्षामा बस्ने ट्राफिक प्रहरी र ट्रायल सेन्टरका मान्छेसँग कुराकानी भएको छ, गोप्य रुपमा सक्कली लाइसेन्स बनाइदिन्छु भनेर परीक्षार्थीसँग रकम उठाउँदै आएको अभियोगमा प्रहरी वृत्त थिमिबाट खटिएर गएका प्रहरीले ट्रायल सेन्टरबाटै काभ्रेपलाञ्चोक पाँचखाल – ६ बस्ने वर्ष ५० का प्रेम अधिकारीलाई पक्राउ गरेको छ । 

पक्राऊ परेका अधिकारीलाई आजै सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाई म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो । 

त्यसैगरी सोही ट्रायल सेन्टरमा प्रयोगात्मक (ट्रायल) परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई समेत प्रहरीले पक्राउ गरेको छ । सिन्धुली पोखरी गाउँपालिका– ५ स्थायी घर भएका वर्ष २० का टीकाराम चौलागार्इंको नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिँदै गरेको अवस्थामा जिल्ला तेह्रथुम ईवा गाउँपालिका– १ घर भई हाल जिल्ला ललितपुर लामाटार बस्ने वर्ष ३० का धनकुमार इङमान (लिम्बू) र भक्तपुर साविक अनपा १० हाल सूर्यविनायक नगरपालिका बस्ने वर्ष २० का सनिस पाक श्रेष्ठको नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिँदै गरेको अवस्थामा लेटाङ गाउँपालिका– ८ मोरङ घर भई हाल ललितपुर लुभु बस्ने वर्ष ३१ का अर्जुन राईलाई प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरी थप अनुसन्धान शुरु गरेको उहाँले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!