खोटाङमा बाँदरका कारण किसानको खेतमै बास

Posted on: 31 May, 2018

जेठ १७ खोटाङ | पाक्न लागेको मकै बाँदरले नष्ट गर्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँका किसान बारीमै बास बस्न बाध्य छन् । 

चिउरीडाँडास्थित सल्लेडाँडाका किसानले लगाएको मकै सुत्ला च्याप्दादेखि नै बाँदरले नष्ट गर्न थालेपछि धपाउन बारीमै पाल हालेर बास बस्न थालेका हुन् ।

गत वर्षदेखि बाँदरले मकैलगायत अन्य बाली नष्ट गर्न थालेपछि दोर्पाचिउरीडाँडाका किसान हैरान भएका छन् । जंगलमा केही खान नपाएपछि गाउँ पसेको बाँदरले अहिले मकै नष्ट गर्न थालेको स्थानीय पदम हिङमाङले जानकारी दिनुभयो । 

“बाँदरले घरमा राखेको मकै समेत खाने गरेको छ,” उहाँले भन्नुभयो । साप्सु खोलादेखि सुर्केसम्म खोलाको जंगल, साप्सु खोलाकैमाथि छहरे खोला र खरबारी ठाडो खोल्सी हुँदै पिप्लेसम्म बाँदरको विगविगी बढेको छ । माछाटोल हुँदै मार्सेमा पनि बाँदरको उस्तै विगविगी बढेको छ । 

बाँदरले क्षति गरेपछि स्थानीयवासीले बालीनाली रक्षाका लागि बाँदर मार्न दिनुपर्ने वा क्षतिपूर्तिी दिनुपर्ने माग गर्दैआएका छन् । जिल्लाका अधिकांश स्थानमा लगाइएको अन्नबाली बाँदरले क्षति पुर्याउने गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!