चितवनमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

Posted on: 01 Jun, 2018

जेठ १८, चितवन | चितवनमा भएको दुई छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको छ । 

राप्ती नगरपालिकामा सडक सम्याउने क्रममा ग्रेडर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राप्ती नगरपालिका–५ स्थित चौकीडाँडा नजिकै बिहीवार साँझ ६ बजे ग्रेडर दुर्घटना हुँदा चालक चितवन खैरहनीका प्रेमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

सडक सम्याउने क्रममा एक्कासि ग्रेडर सडकबाट ५० फिट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज (शिक्षण अस्पताल), भरतपुरमा रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैबीच, चितवनको सौराहास्थित रत्ननगर नगरपालिका–६ मा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शौचालयमा एक पुरुष मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार स्थानीय ४४ वर्षीय बुद्धि गिरी शौचालयभित्र मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार शौच गर्न गएका बेला एक्कासि ढलेर मृत्यु भएको अवस्थामा फेला पारिएको बताउनुभयो । 

लामो समयसम्म ढोका बन्द रहेपछि फोरेर हेर्दा गिरी मृतावस्थामा भेटिएका हुन् । वन्यजन्तुको आखेटोपहार राखिएको संग्रहालयका पर्यटकका लागि सो शौचालय बनाइएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!