नवलपरासीको प्रतापपुर गाउँपालिकाको योजना तथा बजेट तर्जुमा तालीमको बहिष्कार

Posted on: 01 Jun, 2018

श्याम थापा/जेष्ठ १८ सुस्ता | नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिकामा जिल्ला समन्वय समिति बर्दघाट सुस्ता पश्चिम नवलपरासीले आयोजना गरेको योजना तथा बजेट तर्जुमा सम्बन्धि तालीमको बहिष्कार भएको छ | प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष अन्जु कुमारी चौधरी लगाएत ७ जना वडा अध्यक्ष र ६ जना गाउँ कार्यपालिका सदस्य सहित तालिमको बहिष्कार गरेका छ्न । 


प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले गाउँपालिकाका उपाध्यक्ष,वडा अध्यक्ष र गाउँ कार्यपालिकाका सदस्यहरुसंग सरसल्लाह नगरि आफ्नो मनमोजी ढंगले कार्य गरेको र गाउँपालिकाको सम्पूर्ण कार्य पारदर्शिता नरहेको भन्दै गाउँपालिकाको अन्य कार्य तथा गतिविधिमा सहभागी नहुने भन्दै तालिम बहिष्कार गरेको गाउँपालिकाकी उपाध्यक्ष अन्जु कुमारी चौधरीले बताउनुभयो । 

त्यस्तै प्रतापपुर गाउँपालिका वडा नं ६ का अध्यक्ष हरेन्द्र यादवको भनाइ अनुसार प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्माले गाउँपालिकाबाट भएको कार्यको कुनै किसिमको आफुलाई जानकारी नदिएको र गाउँपालिकाको कर्मचारी र अध्यक्ष शर्मा मिलेर हैकमवादी शासन चलाउन खोजेको कारणले आफुले प्रतापपुर गाउँपालिकाको अन्य गतिविधिलाई पनि बहिष्कार गर्ने उहाँले बताउनुभयो । 

साथै प्रतापपुर गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष हेमेन्द्र कुमार पन्जियारको भनाइ अनुसार प्रतापपुर गाउँपालिकाका अध्यक्ष र गाउँपालिकाको कर्मचारीहरुले वडा अध्यक्ष र गाउँ कार्यपालिकाको सदस्यहरुलाई नटेरेको र गाउँपालिका र वडाबाट संचालन भएको योजनाहरुको पनि गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले वडा अध्यक्षहरुलाई जानकारी नदिने र वडाको सिफारिस बिना योजनाहरुको रकम पछ्यौट गरिदिने जस्ता गलत कार्य गरि रहेको हुदा गाउँपालिकाबाट संचालन हुने  कार्यहरु लाई बहिष्कार गरेको र जबसम्म गाउँपालिकाको अध्यक्ष राजकुमार शर्मा र गाउँपालिकाको कर्मचारीहरुको यस्तो हरकत अन्त्य नहुदा सम्म आफुहरु गाउँपालिकाको गतिविधिलाई बहिष्कार गरिरहने बताउनुभयो ।

बहिष्कारमा प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष अन्जु कुमारी चौधरी,प्रतापपुर गाउँपालिका वार्ड न १ अध्यक्ष मान बाहादुर चौधरी,वार्ड न ३ का वडा अध्यक्ष दिवाकर प्रसाद थारु,वार्ड न ४ का वडा अध्यक्ष जयन्त्री प्रसाद बडई,वार्ड न ५ का वडा अध्यक्ष त्रिभुवन सिंह,वार्ड न ६ का वडा अध्यक्ष राम हरि उपाध्याय,वार्ड न ७ का वडा अध्यक्ष हरेन्द्र यादव,वार्ड न ९ का वडा अध्यक्ष हेमेन्द्र कुमार पन्जियार रहनु भएको छ । भने गाउँ कार्यपालिका सदस्य संगीता हरिजन,संगीता धोबी,बन्धु प्रसाद बडई,कल्पना चौधरी,सैदुन नेशा र हरिलाल लोहार गरि ६ जना रहेका छ्न । यस बिषयमा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मालाई पत्रकार श्याम थापाले फोन बाट कुराकानी गर्दा आफुलाई अनावश्यक दोष मात्र लगाएको गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!