विप्लव समूहले चुनाखानीको एक्साभेटर जलायो

Posted on: 02 Jun, 2018

जेठ १९, रत्ननगर | पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ । 

शक्तिखोर बजार नजिकै सम्फर्याङमा राखिएको एक्साभेटरमा आज बिहान करीब ४ बजेतिर आगो लगाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएका हुन् । 

गाडीमा केही जल्ने वस्तु राखेर चालक बस्ने भागमा आगो लगाएको र आगलागीबाट मेसिनको भाग जलेको छ । घटनास्थलमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा फेला परेको समेत उहाँले जानकारी दिनुभयो । स्टार लाइम कम्पनीले यहाँको कोलारबाट चुनाखानी उत्खनन गरी सो ठाउँमा ल्याएर राख्ने र त्यहाँबाट एक्साभेटरको सहयोगमा गाडीमा लोड गरेर पठाउँथ्यो । 

घटनास्थलमा जिल्ला जनपरिषद् चितवनको नाममा पर्चा फेला परेको र सो पर्चामा कम्पनीले शक्तिखोरका जनतासँग गरेको सहमति कार्यान्वयन नभएकाले कारवाही गरिएको उल्लेख छ । 

यहाँको खानेपानी व्यवस्थापन, खोलाको तटबन्ध, सडक निर्माण, चुनाखानी माथिको बस्ती संरक्षण र उपरदाङगढीको संरक्षण नगरेको आरोप लगाएको पाँचबुँदे पर्चा भेटिएको ढकालले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!