महिला नेतृत्व तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न

Posted on: 02 Jun, 2018

मनिषा राई | जेठ १९, रोल्पा | ग्रामिण भेगका महिलाहरुको क्षमता अभिबृद्धि गर्ने हेतुले माडी गाउपालिका १ को आयोजनामा गत ज्येष्ठ १६ गते माडी गाउपालिका १ घोर्नेटी र १७ गते पेदिखोला रोल्पामा महिला नेतृत्व तथा क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न भएको छ । “हामीकहाँ छोरी चेलीको इज्जत लाई काँचसँग तुलना गरिन्छ भनिन्छ काँच जस्तै संवेदनशिल हुन्छ रे छोरी चेलीको इज्जत । केहि गर्ने इच्छा र आँट बोकेका महिलाको खुट्टा तान्नका लागि उसको नियतिका बारेमा प्रश्न उठाइन्छ । ” कार्यक्रममा सहभागि टंकि बुढाले गुनासो गर्नुभयो ।

नेपालमा पुरुषको तुलनामा महिलाको संख्या बढी नै छ तर पनि हरेक निकायमा सोचे जति महिलाको सहभागिता छैन । राज्यका हरेक निकाय र नीति निर्माण तहमा महिला सहभागिता जति हुन सक्यो त्यति नै महिलामैत्री वातावरण बन्न सक्छ ।

महिलाका समस्या र मुद्दा नजिकबाट बुझेर समस्या समाधानका लागि पहल गर्नुको साटो छोरीलाई सामान्य घरधन्दामा सीमित राख्नुपर्ने परिवार र समाजको परम्परागत सोचाईले महिलालाई अझ असहज बनाएको अर्की सहभागि मनिषा घर्तीमगरको भनाई छ ।

हाम्रो समाजमा अझै पनि महिलाले अवसरभन्दा पनि धेरै चुनौती नै खेप्नुपरेको छ । लैङिगक बिभेदमा अल्झिएका ग्रामिण भेगका महिलाले सामाजिक, आर्थिक र नैतिकरूपमा चुनौती सामना गर्नुपरिरहेको हुन्छ । आम समाजको हौसला र प्रोत्साहनभन्दा पनि बढी आलोचनाको सामना गर्न बाध्य छन् महिला ।


उसै त आम महिलाको चरित्रमाथि नै दाग लगाउन तल्लिन हाम्रो समाजले महिलालाई प्राथमिकता दिएर अवसर नदिइनुले पनि चुनौती बढी देखिएका हुन् । पुरुष प्रधान समाजमा अझै पनि जतिसुकै अनुभवी र क्षमतावान भए पनि पुरुषको तुलनामा महिला कमजोर नै हुन्छन् भन्ने मानसिकता पनि दरिलै छ ।

माडी गाउपालिका १ का अध्यक्ष आम बहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको तालिममा पत्रकार खेम बुढा र मनिषा राईले परिक्षण दिनुभएको थियो । साथै कार्यक्रमको सन्चालन माडी गाउपालिका १ का सचिव खडक घर्तीमगरले गर्नुभएको थियो ।

ग्रामिण भेगमा अझै पनि महिलाहरु घरेलु या सामाजिक हिंसामा परिरहेका छन् । महिलाहरुलाई हेर्ने दृष्टिकोण, शिक्षा, स्वास्थ, प्रजनन, स्वतन्त्रता लगायतको क्षेत्रबाट महिलाहरु बन्चित छन् । पुरुष प्रधान समाजमा अझै पनि महिलालाई पढाउन हुदैन, छोरी मान्छे चुल्हो चौकोमा मात्र सिमित हुने भन्ने जस्ता परम्परागत चलनले गर्दाै पनि महिलाहरु पुराना सस्कार र रितिरिवाजमै रुमल्लीएका छन् ।

कुनै कुनै ठाउमा अवसर भएको अवस्थामा पनि महिलालाई निर्णायक स्थानमा राख्न समाजका पुरुषहरु नै चाहँदैनन् । तसर्थ, पेशागत क्षमता र दक्षताको आधारमा महिलालाई अवसर दिँदैँ जाने र महिलामैत्री समाज बन्ने हो भने मात्र महिलाले भोग्दै आएका समस्या न्युनीकरणमा मद्दत पुग्ने सहभागिहरुले बताएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!