पर्वतको कुस्मा नगरमा किशोरीले थाले मदिरा नियन्त्रण अभियान

Posted on: 04 Jun, 2018

जेठ २१, पर्वत | पर्वतको कुस्मा नगरपालिका –१४ आर्थर डाडाँखर्कमा किशोरीहरुले मदिरा नियन्त्रण अभियान शुरु गरेका छन ।

जथाभावी मदिरा सेवन र बिक्री बितरण गर्दा समाजमा हिंसा, असुरक्षा बढेको भन्दै आर्थर युवा महिला सञ्जालको अगुवाईमा मदिरा नियन्त्रण अभियान शुरु गरेका हुन ।


मदिरा नियन्त्रण अभियान शुरु गरेका किशोरीहरुले वडामा आइबार जनचेतनामुलक र्याली गरेका छन । साविकको आर्थर डाडाँखर्क गाबिसका सबै वडाहरुमा पुगेर जथाभावी मदिरा बिक्री नगर्न र मदिरा सेवनबाट हुने बेफाइदाका बारेमा जनेचतना जगाएका छन ।

अभियान अन्तर्गत शुरुमा जनचेतना जगाउने र त्यसपछि आवश्यकता अनुसार अन्य कार्यक्रम गरिने सञ्जालले जनाएको छ ।

युवा महिला सञ्जालमा आबद्ध किशोरीहरुले मदिरा नियन्त्रणका लागि वडाका जनप्रतिनिधी र महिला समहुहरुसंग समेत सहकार्य गरेको वडा सदस्य होमनाथ रिमालले जानकारी दिए । युवा महिलाहरुको सक्रियतालाई वडाले प्रोत्साहन गरेर मदिरा नियन्त्रणका लागि आवश्यक निर्णयहरु समेत गर्न लागेको छ । आर्थरमा भित्रीने सवारी साधनलाई मदिरा नबोक्न आग्रह गर्ने, जथाभावी रुपमा मदिरा बिक्री र सेवन नगर्न सबैलाई आग्रह गर्ने र गरेको पाईएमा कानुनी कारबाही गरिने सदस्य रिमालले बताए ।

मदिरा नियन्त्रण अभियानलाई प्लान इन्टरनेशनल र इन्प्रेड नेपालले समेत सघाएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!