डडेल्धुरामा सार्वजनिक काममा महिला सहिभागिता बढ्दो

Posted on: 04 Jun, 2018

जेठ २१ डडेल्धुरा | गाउँ समाजमा भइरहेका विभिन्न उपभोक्ता समितिले गर्ने सार्वजनिक कार्यमा महिलाको सहभागिता बढिरहेको छ । 

पछिल्लो समयमा उपभोक्ता समितिका काममा महिला सक्रियता देखिने गरेको छ । पुरुष रोजगारीको सिलसिलामा घर बाहिर रहने भएकाले पछिल्ला वर्षमा उपभोक्ता समितिका कामदेखि भौतिक पूर्वाधार निर्माणमा महिला मजदूरको संख्या बढी देखिने गरेका छ । 

डोजर तथा अन्य आधुनिक औजारले हुने निर्माणका काममा बाहेक पर्खाल निर्माण, ढुंगा, गिट्टी, बालुवा ओसारपसारका काममा महिला बढी सक्रिए भएका पाइन्छन् । अहिले वडा, गाउँ, नगर तथा केन्द्रीय सरकारद्वारा चालू आर्थिक वर्षको विनियोजित बजेटअनुसारका काम सम्पन्न गर्न निर्माण धमाधम भइरहेका छन् । 

उपभोक्ता समितिबाट भइरहेका अधिकांश सडक निर्माणमा महिला श्रमिक बढी खटिने गरेका अमरगढी नगरपालिका–५ सेलागाउँका उपभोक्ताले बताएका छन् । डोजरको प्रयोगबाट बनिरहेका सडकबाहेकका काममा महिला श्रमिकले काम गरिरहेका छन् । 

अमरगढी नगरपालिका–७ सिरोला गाउँका महिलाले पोखरा बजारदेखि गाउँसम्मको सडक निर्माण आफैँ गरिरहेको स्थानीय समाजसेवी खडक बोहराले जानकारी दिनुभयो । वडा कार्यालयको रु ५० हजारबराबरको रकममा दैनिक ज्यालादारीमा परम्परागत स्रोत साधनको प्रयोग गरी महिलाले सडक निर्माण सम्पन्न गरेको वडा सदस्य भक्त साहुले बताउनुभयो । झण्डै दुई किलोमिटर लम्बाइ रहेको सो सडक तीन मिटर चौडाइ खनिएको उहाँले बताउनुभयो । 

दैनिक ४० महिलाको सहभागितामा सडक निर्माण गरिएको कलावती भण्डारीले बताउनुभयो । कामका लागि सदरमुकाम क्षेत्रमा धाउँदै गरेका महिलालाई सडक निर्माणमा लगाइएपछि गाउँघरमै केही दिन भए पनि ज्यालादारीमा काम गर्न पाउँदा महिला हर्षित भएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!