जातीय विभेद अझै कायम

Posted on: 05 Jun, 2018

जेठ २२, बैतडी | विभिन्न अभियानका बाबजुद पनि जातीय विभेद अझै न्यूनीकरण हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । 

सरकारले जातीय विभेद अन्त्यको घोषणा गरेको १२ वर्ष पूरा भएको अवसरमा सोमबार बैतडीमा गरिएको मिडिया संवाद कार्यक्रमका सहभागीले हरेक सचेत नागरिकले जातीय विभेद अन्त्यको पहल थाल्नुपर्ने बताएका हुन् । 

दलित महिला संघ, बैतडीले आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित सन्चारकर्मीको सहभागिता थियो । दलित महिला संघ बैतडीका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी प्रमुख अतिथि रहनुभएको थियो । 

कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी जोशीले अहिले पनि हरेक ठाउँमा विभेद कायम रहेको बताउनुभयो । उहाँले हरेक व्यक्तिको मनमा केही न केही कुराप्रति विभेदको भावना हुने भएकाले सबैले आफ्नो सोच परिवर्तन गर्नुपर्ने बताउनुभयो । 

उहाँले पछिल्लो समयमा जातीय विभेद अन्त्यका लागि मिडियाले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । संघका जिल्ला अध्यक्ष सरस्वती नेपालीले भावी पुस्ताका व्यक्तिले जातीय आन्दोलन गरिरहनु नपर्ने गरी सबैले जातीय विभेदविरुद्ध आवाज उठाउनु पर्ने बताउनुभयो । 

यस्तै, नागरिक समाज, बैतडीका सचिव करन दयालले सबै जनप्रतिनिधि जातीय विभेदविरुद्धको अभियानमा लाग्नुपर्ने सुझाव दिनुभयो । अधिकारकर्मी लामो समयदेखि विभेदविरुद्धको आन्दोलनमा रहेको बताउँदै उहाँले समाजबाट जातीय विभेदको चाँडै अन्त्य हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका दलित जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो । सरकारले २०६३ साल जेठ २१ गतेका दिन जातीय विभेद अन्त्य भएको घोषणा गरेको सम्झनामा बैतडीसहित विभिन्न जिल्लामा कार्यक्रम गरिएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!