धादिङमा बजार अनुगमन शुरु, म्याद नाघेका वस्तु बरामद

Posted on: 05 Jun, 2018

जेठ २२, धादिङ |  पृथ्वीराजमार्गको धादिङ खण्डमा सोमबारदेखि जिल्ला अनुगमन समितिले बजार अनुगमन शुरु गरेको छ । 

अकस्मात् बजार अनुगमनमा पुगेको टोलीले बेनीघाट रोराङ गाउँपालिका क्षेत्रमा रहेका बजारबाट ठूलो मात्रामा म्याद नाघेका वस्तु बरामद गरेको सहायक प्रजिअ धोलकराज ढकालले बताउनुभयो । 

बिस्कुट, चाउचाउ, चियापत्ती, विभिन्न ब्राण्डका जुस, लेज, कुरकुरे लेज आदि बरामद गरी नष्ट गरिएको छ । गाउँपालिकाको मौवाखोला क्षेत्रमा बजारमा बिक्री गरिएका बिस्कुट थोक बिक्रेताले नै म्याद गुज्रेपछि पठाएकाले धेरै सामग्री बजारमा म्याद नाघेको भेटिएको व्यवसायीको भनाइ छ । 

मदिराजन्य वस्तु अनुमति नलिई बिक्री वितरण गर्न नपाइने कानूनी प्रावधान विपरीत बिक्रीवितरण गरिएका १० भन्दा बढी पसलबाट मदिरासमेत अनुगमन टोलीले बरामद गरी नष्ट गरेको छ । 

अनुगमन निरन्तर गरिने र यात्रु लक्षित होटल तथा खाद्य पदार्थको गुणस्तर सुधार गर्न अनुगमनले नियमन गर्ने अनुगमनमा सहभागी प्रजिअ भगिरथ पाण्डेको भनाइ छ ।(रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!