चार वर्षमा पनि बनेन नुवाकोटको थानसिङ स्वास्थ्यचौकी भवन

Posted on: 05 Jun, 2018

जेठ २२ नुवाकोट | ककनी गाउँपालिका–८ आरुचौरमा रहेको थानसिङ स्वास्थ्य चौकीको निर्माणाधीन भवन चार वर्षदेखि अलपत्र हुँदा स्वास्थ्यचौकी सेवा प्रभावित भएको छ । 

चार वर्षअघि निर्माण आरम्भ भए पनि ठेकेदारले बीचमा काम छाडेपछि भवन अलपत्र बनेको छ । भूकम्पको कारण पुरानो भवन बस्न अयोग्य भएपछि भाडाको घरबाट स्वास्थ्यचौकी सञ्चालन गर्दै आएकामा अत्याधुनिक भवनबाट सेवा प्रवाह गर्ने स्वास्थ्यचौकीको योजना पनि अलपत्र परेको छ । 

“नयाँ भवनबाट सेवा प्रवाह गर्ने सपना सपनामै सीमित हुने भो”, स्वास्थ्यचौकीका इन्चार्ज सुरेश गैरेले भन्नुभयो “भवन निर्माण सम्पन्न हुन अझै दुई वर्ष जति लाग्ला । करीब साठी प्रतिशत काम भयो होला ।” 

ठेकेदारले निर्माण थालेर बीचमै काम स्थगत गरेपछि निर्माणको काम अलपत्र परेको हो । एक वर्षपछि ठेकेदारले वैशाख लागेपछि काम थाले पनि वर्षात्को कारण ढुवानीको समस्या, जिल्लामा गिटी बालुवाको अभाव देखाउँदै फेरि काम नगरेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा ककनी गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष शेषमान लामाले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!