समयमै काम नगर्ने नुवाकोटका यी ठेकेदार विरुद्द कारवाहीको सिफारिस

Posted on: 10 Jun, 2018

जेठ २७, नुवाकोट | विकास निर्माण तथा भौतिक संरचनाअन्तर्गत ३१ योजनाको काम तोकिएको समयमा पूरा नगर्ने ठेकेदार (व्यवसायी) लाई कारवाहीका लागि यहाँको प्रशासनले गृहमन्त्रालयमा सिफारिस गरेको छ । 

गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले संकलन गरेको विवरणअनुसार जिल्लाका चार कार्यालयमार्फत सञ्चालित ती योजना समयमा नै सम्पन्न नगर्ने ठेकेदार कम्पनी र त्यसका सञ्चालकको विवरण कारवाहीका लागि गृहमन्त्रालयमा पठाइएको हो । 

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार प्राविधिक कार्यालय मातहतका तीन योजना, मध्यमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयको पाँच योजना, डिभिजन सडक कार्यालयको बाह्र योजना र शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ठेक्का भएका एघार योजना तोकिएको समयमा पूरा नगर्ने ठेकेदारको विवरण कारवाहीका लागि गृहमा पठाइएको छ । 

तोकिएको समयमा काम पूरा नभएका योजनामा सडक, स्वास्थ्य चौकी, पक्की पुल, सिँचाइलगायतका योजना छन् । 

भौतिक संरचना निर्माणको भूमिकामा रहेका जिल्लाका बाह्रवटा कार्यालयसँग लिएको तथ्याङ्कमा चार कार्यालयका ३१ योजना निर्माणको जिम्मा लिएका ठेकेदारले तोकिएको समयमा काम नगरेको तथा गरेपनि गुणस्तरहीन गरेको भन्दै कारवाहीका लागि सिफारिस गरिएको प्रजिअ थापाले बताउनुभयो । 

ठेकेदारले जिम्मा लिएका योजना तोकिएको समयमा पूरा नहुनुमा गत वर्ष सम्पन्न निर्वाचन र त्यो समयमा लगाएको निर्वाचन आचारसंहिता, तीन वर्षअघि गएको विनाशकारी भूकम्प र त्यसपछिको नाकाबन्दी, लगातारको वर्षा, निर्माण सामग्रीको अभाव मुख्य कारण देखाइएको छ । 

ठेकेदारको लापरवाही तथा काम नगर्ने मनस्थिति, योजना सञ्चालन भएको स्थानमा स्थानीयवासीको अवरोध, निर्माण व्यवसायी किर्ते अभियोगमा पक्राउ पर्नुलगायतले पनि योजना सम्पन्न गर्न चुनौती देखिएको भन्दै कारवाहीका लागि यहाँको प्रशासनले शुक्रबार गृह मन्त्रालयमा सिफारिस गरेको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!