३३ किलो सुन तस्करी प्रकरण: गोरेसहित ३ जनाको सम्पति छानविन सुरु

Posted on: 12 Jun, 2018

जेठ २९, काठमाडौँ । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’ सहित ३ जनाको सम्पत्ति अनुसन्धान सुरु गरेको छ । विभागले सोमबार सुन तस्करीमा संलग्न रहेका तीन अभियुक्तहरु चुडामणि उप्रेती 'गोरे', भुजुङ गुरुङ र छिरिङ वाङगेलको सम्पति छानविन सुरु गरेको हो | 

विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानविनको क्रममा सफाईको मौका समेत दिने तयारी गरेको छ । अभियुक्तहरुलाई आवश्यक्ता अनुसार विभागमा झिकाएर सफाईको मौका दिइने पनि विभागका प्रवक्ता विनोद लामिछानेले जानकारी दिए ।

विभागले सम्पत्ति छानवीन अनुसन्धानका क्रममा अभियुक्तहरु गोरे, भुजुङ र छिरिङविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाणलाई आधार बनाउने स्पष्ट पारेको छ ।

विभागले सोमबार मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका गोरेसहित ३ जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि झिकाएको थियो । पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन ।

२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ उनको साला नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै समुह बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको हो । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तहरु हाल केन्द्रिय कारगारमा राखिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!