३३ किलो सुन तस्करी प्रकरण: बाजेको सेकुवा रेस्टुरेन्टमा शिलबन्दी

Posted on: 13 Jun, 2018

जेठ ३०, काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानमा जुटेको अनुसन्धान समितिले आज बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ ।

समिति स्रोतका अनुसार काठमान्डौको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित संचालित बाजेको सेकुवाको शाखामा छापा मारेर शिलबन्दी गरिएको हो ।

बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी भने फरार रहेका छन् । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका उनलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो ।

हाल बाजेको सेकुवा नामबाट  १० वटा रेस्टुरेन्ट सञ्चालनमा छन् । त्यसमध्ये ५ वटा भण्डारी र एउटा उनको सालो सञ्चालक रहेको गरी ६ वटामा छापा मारेर शिलबन्दी गरिएको समिति स्रोतले जनाएको छ ।

भण्डारीको सम्पत्ति र बैंक खाता भने यसअघि नै रोक्का भइसकेको छ ।

अनुसन्धान समितिले यसअघि सुनका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल र अर्का प्रतिवादी राजेन्द्र शाक्यको आरके ज्वेलर्सको ३ वटा शाखामा छापा मारेको थियो ।

अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो । त्यस्तै, बा १० च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अन्य केही महत्वपूर्ण कागजातहरु बरामद भएको थियो ।

शाक्यको ज्वेलर्सबाट २८ करोड रूपैयाँ बराबरको सुन, चाँदी लगायतको गरगहना बरामद भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!