माइक्रोबस र ट्रक एकापसमा ठोक्किदा चार जनाको मृत्यु

Posted on: 15 Jun, 2018

असार १, चितवन | इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ । 

यसअघि, तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकजनाको उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ७६९२ नंको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४०६४ नंको ट्रक आज बिहान ७:२० बजे एकापसमा जुधेका हुन् । 

घटनामा परी मृत्यु भएका तीनजनाको सनाखत आहिलेसम्म भएको छैन भने उद्धारका लागि ल्याइँदै गर्दा मृत्यु भएकामा माइक्रोबस चालक कास्की रुपाकोट–८ का ३३ वर्षीय चन्द्रबहादुर केसी रहेका छन् । 

घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेजमा, दुईजनाको चितवन पुरानो मेडिकल कलेज, भरतपुर र एकजनालाई पोखरा पठाइएको छ । 

चितवन मेडिकल कलेजमा रहेका दुईजना र पुरानो मेडिकल कलेजमा रहेका दुईजना गरी चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको र अन्यको अवस्था मध्यम रहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!