अस्पतालमा ५ महिनादेखी अवरुद्ध सेवा सञ्चालनमा

Posted on: 17 Jun, 2018

असार ३, कालिकोट | जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जिल्ला अस्पतालमा लामो समयदेखी बन्द रहेका बिभिन्न सेवाहरु सञ्चालनमा ल्याएको जनाएको छ । आईतबार पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीहरुसंग स्वास्थ्य शिक्षा सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा  अस्पतालले अवरुद्ध सेवा सञ्चालनमा ल्याउको जानकारी दिएको हो ।

जिल्ला अस्पताल कालिकोटमा ६ महिनादेखी बन्द रहेका गर्भवती महिलालाई गर्ने सिएस शल्यक्रिया सेवा, विगत २ बर्षदेखी बन्द रहेको हाईड्रोसिलको अप्रेशन सेवा र जिल्लामै पहिलो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुको सहयोगमा हाड जोर्नीको शल्यक्रिया सेवा समेत सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा.टंकप्रसाद आचार्यले जानकारी दिए ।

अस्पतालले अवरुद्ध सेवा सञ्चालन गरेपछि १५ दिनको अवधिमा हार्डजोर्नीका मुख्य ७ वटा सफल अप्रेशन र दुई वटा गर्भवती महिलाहरुको अप्रेशन गरी बच्चा जन्माईएको उनले बताए । जिल्ला अस्पताल कालिकोटमा निक्ससाईमन नाम गैरसरकारी संस्थाबाटबिशषेज्ञ सेवाका लागि एमजीडिपी डा. बिज्ञान प्रजापतीले बिशेषज्ञ सेवा उपलब्ध गराउँदै आएका छन् ।

६ महिना अघि गर्भवती महिला चन्दा शाहीको सामान्य तरिकाले बच्चा नजन्मिएपछि शल्यक्रिया गर्दा उनको मृत्यु भएपछि तनावग्रस्त बनेको जिल्ला अस्पतालमा बिषशेज्ञ डाक्टरको अभावमा शल्यक्रियाका सेवाहरु बन्द थिए । कालिकोट जिल्ला अस्पतालमा सुविधासम्पन्न अस्पतालमा गरिने र आर्थिक हिसाबले निकै महङ्गा मानिएका शल्यक्रिया सेवाहरु पनि सञ्चालन गरिएको निमित्त प्रमुख डा. आचार्यले बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सूचना तथा सञ्चार कार्यक्रमका फोकल पर्सन हेमराज बमले कालिकोटमा परिवारनियोजन सेवाको प्रयोगको अवस्थाका बारेमा जानकारी दिए । उनले परिवार नियोजनका अस्थाई साधनहरु प्रयोगकर्ता न्युन रहेको भन्दै यस्ता साधनहरुको प्रयोग बढाउन सचेतना जरुरी भएको बताए । जिल्लामा परिवार नियोजन सेवा लिनेहरु मध्ये २८ प्रतिशतले स्थायी बन्ध्याकरण गर्ने गरेको उनले बताए । वमका अनुसार कालिकोटका  २६ प्रतिशतले डिपो, २३ प्रतिशतले पिल्स, २३ प्रतिशतले कण्डम, ११ प्रतिशतले इन्प्लान्ट र ३ प्रतिशतले आयुसिटी सेवा लिईरहेका छन् ।

अस्पतालमा हाल दैनिक रुपमा ६० देखी ७० जनासम्म विभिन्न समस्याका बिरामीहरु आउने गरेको जिल्ला अस्पतालका ईमरजेन्सी ईन्चार्ज दीपबहादुर रावलले बताए  । उनका अनुसार जिल्ला अस्पतालमा आउने बिरामीहरु मध्य ज्वरो र झाडापखालाका बिरामीहरु बढी रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!