काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्छ: नेत्री कोइराला

Posted on: 18 Jun, 2018

असार ४, काठमाडौँ | नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्नेमा जोड दिनुभएको हो । 

“काँग्रेसभित्र हारको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा समस्या परेको छ”, नेत्री कोइरालाले भन्नुभयो, “संसद्मा बोल्ने विषयमा पार्टीभित्र छलफल नहुँदा काँग्रेस कमजोर प्रतिपक्षका रुपमा देखिएको छ ।” । 

हैकमवादी प्रवृत्तिले काँग्रेस चल्न नसक्ने भएकाले पार्टी भित्रको गुट–उपगुट समाप्त पार्ने नेतृत्व आवश्यक रहेको भन्दै उहाँले बिपी कोइरालाको विचारलाई अगाडि बढाउने व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा जोड दिनुभयो । 

नेत्री कोइरालाले स्थानीय तहसम्म पार्टी संरचना लैजानुपर्नेमा अहिलेसम्म पुग्न नसकेको बताउनुभयो । उहाँले युवालाई तालीम दिएर संगठन निर्माण लाग्नु काँग्रेसको प्रमुख काम भएको उल्लेख गर्नुभयो । 

चीन भ्रमणमा पूर्व सरकारले गरेका सन्धि सम्झौतालाई कार्यान्वयन गर्नेबारे यो सरकार लाग्नुपर्नेमा चर्चा गर्दै पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहनुभएकी नेत्री कोइरालाले भन्नुभयो, “चीन र भारत दुवै नेपालका छिमेकी हुन्, दुवै देशसँग नेपालले समदूरी सम्बन्ध राख्नुपर्छ र चीन र भारत दुवैको समृद्धिको फाइदा नेपालले लिनुपर्छ । ” । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!