धनकुटामा सेनाद्वारा बम निष्कृय

Posted on: 20 Jun, 2018

असार ६, धनकुटा | धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । 

आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा रहेको मध्यपहाडी लोकमार्ग निर्माण गर्न स्थापना गरिएको कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरी राखिएको बम बिहान ७ बजे २ बाहिनी हिले अड्डाबाट खटी गएको टोलीले निष्कृय गरेको थियो । पाख्रिबास नगरपालिका–४ मा रहेको कम्पनीको कार्यालय नजिक गएराति रेडबुलको बट्टामा राखिएको अवस्थामा बम फेला परेको थियो । 

सो क्षेत्रमा गएरातिदेखि नै प्रहरीले सुरक्षा सतर्कता बढाएर सो क्षेत्रलाई नियन्त्रणमा राखी बम निष्कृय पारिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार रेडबुलको बट्टामा ग्रिनेट बमको टुक्रा फेला परेको थियो । 

सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्व समूहले बम राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

कञ्चनजंघा कन्ट्रक्सन कम्पनीले पाख्रिबास–लेगुवा सडक निर्माणमा लापरबाही गरेको भन्दै १५ दिनभित्र सुधार नगरे कारबाहीको चेतावनी दिएर विज्ञप्ति जारी गरेको थियो । सो विज्ञप्तिमार्फत लापरबाही गर्ने निर्माण कम्पनीलाई नेपाल सरकारसँग कारबाहीको माग गर्दै सरकाले कारबाहीको दायरामा ल्याउन नसके आफूहरुको जनसत्ताले कारबाही गर्ने जनाएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!