रुकुममा दाइद्वारा सहोदर भाइको खुकुरी प्रहार गरी हत्या

Posted on: 21 Jun, 2018

असार ७, रुकुम | रुकुम पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन् । 

जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ । 

जग्गासम्बन्धी सामान्य विवादका कारण रुद्रले खुकुरी प्रहार गरी जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । 

हत्या गर्ने रुद्रबहादुर पुनले जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । 

जोखबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले, रुकुम ल्याइँदैछ। यो घटना मामाको घर डाँचीकोट गाउँपालिका–६ मग्मामा भएको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!