लखनपार्कको गुरुयोजना निर्माणका लागि समिति गठन

Posted on: 24 Jun, 2018

असार १०, दाङ | घोराही उपमहानगरपालिकाको वडा नं १४को मुख्य बजारमा लामो समयदेखि अलपत्र रहेको लखनपार्क निर्माण हुने भएको छ । 

जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं प्रदेश नं ५का उपाध्यक्ष हेमराज बन्जाडेको संयोकत्वमा छ सदस्यीय उक्त पार्क गुरुयोजना निर्माण समिति गठन गरिएको वडाध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । 

उक्त समितिको सदस्य सचिवमा पत्रकार महासंघ जिल्ला सदस्य जनक नेपाली तथा सदस्यहरुमा ऋषिराज शर्मा, दिलकुमारी बुढा श्याम सुवेदी र लोकराज पराजुली रहनुभएको छ । 

यही आर्थिक वर्षदेखि गुरुयोजना निर्माण गरी पार्क निर्माणको काम अगाडि बढाउने समितिका संयोजक बन्जाडेले बताउनुभयो। साउनदेखि नै पार्कको दायाँबायाँ फोहरा निकाल्नका लागि खनिएको खाल्डो माटो भर्ने, पार्कको बाहिरी भागको दायाँबायाँ आठ फिट ढलानसहित स्ल्याप राखेर गाडी पार्किङको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो । 

घोराही बजारको मुख्य भागमा रहेको करीब ११ कट्ठा क्षेत्रफलको सो पार्क निर्माणका लागि सबैसँग सहकार्य गर्ने पनि संयोजक बन्जाडेले बताउनुभयो । 

हाल पुराना संरचना भत्काएर छाडिएको पार्क अलपत्र अवस्थामा छ । पार्कको वरपर लगाइएको टाएल, क्यारिलसमेत उठाएर राखिएको छ । 

गत वर्षको निर्वाचनमा पूर्व सभासद् राजु खनालको संसद् विकासकोषमार्फत पार्क निर्माणका लागि रु ४० लाख प्राप्त भएकामो रु १६ लाखमात्र खर्च भएको र बाँकी सबै रकम फ्रिज भएको पार्क निर्माण उपभोक्ता समितिका संयोजक दिलीप डिसीले जानकारी दिनुभयो । 

पार्क निर्माणका लागि प्राविधिकले नक्सा उपलब्ध नगराउँदा काम गर्न समस्या भएको उहाँको भनाइ थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!