धादिङमा पहिरो: तीनजनाको मृत्यु, दुई बेपत्ता, सातघर पुरिए

Posted on: 28 Jun, 2018

सीताराम अधिकारी | असार १४, मलेखु, धादिङ | धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् । 

दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङको पहिरोमा परी मृत्यु भएको छ । उनीहरुको शव आज विहान पहिरोबाट निकालिएको छ । सो पहिरोबाट एकजनालाई घाइते अवस्थामा गाउँवासीले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो । 

खनीयावास गाउँपालिका–४, चिउरीखर्कमा पहिरोले एक घर पुरिएको छ । सो पहिरोमा परी शम्शेर घले र कोप्ची घले बेपत्ता भएको इलाका प्रहरी कार्यालय, दार्खाका प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिनुभयो । 

यसैगरी, नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएकोे छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षात्का कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर चल्न छाडेको छ । इलाका प्रहरी कार्यालय, दार्खाको प्रहरी टोली चिउरीखर्क पुगिसकेको छ भने साईश्वाँरा भने अझै पुग्न सकेको छैन । 

घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा जतिसक्दो छिटो प्रहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!