करेन्ट लागेर एकको मृत्यु, चार घाईते

Posted on: 01 Jul, 2018

असार १७, कञ्चनपुर | करेन्ट लागेर कञ्चनपुरमा एकको मृत्यु र चार जना मजदुर घाईते भएका छन् । भीमदत्त नगरपालिका–३ विचपुरीमा विद्युतका पोल गाड्ने क्रममा आइतबार २२ बर्षिय शिवराज रानाको मृत्यु भएको हो ।

नेपाल विद्युत प्राधिकरण शाखा कञ्चनपुरले विचपुरीमा नयाँ पोल गाड्का लागि स्थानीय निर्माण व्यवसायी पदम बोहरालाई ठेक्का दिएको थियो । 

लालझाडी गाउँपालिका–५ देखतभूलीका राना सहित पाँच जनालाई करेन्ट लागेको थियो । नेपाल विद्युत प्राधिकरण शाखा कञ्चनपुरका प्राविधिक नर बहादुर ऐरले नयाँ पोल गाड्ने बेला विद्युतको साविक लाईन बन्द नगर्दा करेन्ट लागेको बताए ।

‘पानीले झिजेको विद्युतको सिमेन्टको पोल माथि तारमा टच हुँदा करेन्ट लागेको हो, ‘उनले भने, ‘करेन्ट लागेर रानाको घटना स्थलमै मृत्यु भयो, अन्य चार जना घाईते भएका छन् ।’ 

कैलालीका २३ बर्षिय वालविर चौधरी, कञ्चनपुरको बेल्डाँडीका सन्दिप चौधरी, लालझाडी देखतभूतलीका जोहरलाल राना र बेलौरी–६ का अनिल चौधरी घाईते भएका छन् । घाईते चारै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि सेती अञ्चल अस्पतालमा रेर्फर गरिएको छ । 

मृतकको पोष्टमाष्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । पाँच जना मजदुरलाई ठेकेदार पदम बोहराले दैनिक ज्यालामा काममा लगाएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!