नुवाकोटको ककनी खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा

Posted on: 02 Jul, 2018

असार १८, नुवाकोट | यहाँको ककनी गाँउपालिकालाई आइतबार जिल्लाको ११औँ स्थानीयतहको रुपमा खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र भएको घोषणा गरिएको छ । 

रानीपौवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले यसअघि घोषणा हुन बाँकी रहेका वडासहित सिंगो गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र र गाउँपालिकाभित्रका बालबालिकाले तोकिएको खोपको मात्रा सबै लिएको सरकारी तथ्यांकका आधारमा एकैसाथ खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र भएको घोषणा गर्नुभएको हो । 

गाउँपालिकाभित्र पर्ने साविकका गाविस ओखरपौवा, चाउथे, ककनी, चतुरालेको सबैस्थान तथा मदानपुर र थानसिंहको केही भूभाग मिलेर बनेको ककनी गाउँपालिकाभित्रका पाँच हजार ९६५ घरधुरीमध्ये ९९ प्रतिशतकोे घरमा पक्की शौचालय निर्माण भएको तथ्यांकका आधारमा त्यसको पूर्ण पालना गर्न गाउँपालिकावासीलाई सामूहिक एक्यबद्धता जनाउन लगाएर सरसफाइको मुख्य हिस्साअन्तर्गतको खुला दिसामुक्त क्षेत्र भएको घोषणा प्रतिनिधिसभा सदस्य तामाङले गर्नुभएको हो । 

यसैगरी बाल स्वास्थ्य सुधारको लागि महत्वपूर्ण मानिएको सबै बालबालिका पूर्ण खोपयुक्तको पहुँचमा आएको घोषणा गर्दै निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो । 

सरसफाइ र स्वास्थ्यको दृष्टिकोणले सभ्य समुदायतर्फ लम्किएको बस्तीलाई आगामी दिनमा थप अघि बढाएर पूर्ण कार्यान्वयन गराउन शौचालय प्रयोगको अवस्थाको नियमित अनुगमन, त्यसको कार्यान्वयन गर्नेलाई प्रोत्साहन तथा सम्मान, बजार क्षेत्रमा सार्वजनिक शौचालयको निर्माण, खानेपानीको उचित प्रबन्धलगायतमा स्थानीय सरकारले आवश्यक प्रबन्ध मिलाउने गाउँपालिका प्रमुख मानबहादुर लामाले बताउनुभयो । 

घोषणा कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनाली, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख मोहनलाल जैसी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, सबै वडाका वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता थियो । 

नुवाकोटमा खुला दिसामुक्त क्षेत्र घोषणाको लागि अब बेलकाटगढी नगरपालिका बाँकी रहेकाले त्यसलाई यही २१ गते घोषणा गर्दै यो महिनाभित्र सिंगो जिल्ला खुला दिसामुक्त क्षेत्र भएको घोषणा गर्ने तयारी थालिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!