पानीको बहाव बढ्दा वनवासा पुलबाट आवागमनमा रोक

Posted on: 02 Jul, 2018

असार १८, भीमदत्तनगर | आइतबारदेखिको अबिरल वर्षाका कारण पश्चिम महाकाली नदीमा पानीको बहाव बढेको छ । 

पानीको बहाव बढेसँगै गड्डाचौकी भएर भारततर्फ जाने चार पाङग्रे सवारीसाधनलाई शारादा ब्यारेज (वनवासा पुल) बाट आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । 

वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायव निरीक्षक डिकरदेव पन्तले जानकारी दिनुभयो । 

उहाँका अनुसार सोमबार दिउँसो महाकाली नदीमा पानीको बहाव १ लाख २८ हजार ५ सय क्युसेक मापन गरिएको छ । जुन यस वर्षकै उच्च बहाव हो । 

‘आज बिहानको भन्दा पानीको बहाव बढ्दै गएको छ ।” प्रहरी नायब निरीक्षक पन्तले भन्नुभयो, “वनवासा पुलमा दुई पाङग्रे सवारीसाधन र पैदलयात्रुलाई भने आवागमन खुल्ला नै छ ।” 

सोमबार दिउँसोपछि पुलमा आवागमन बन्द हुँदा खासगरी लामो दुरीका यात्रु समस्यामा परेका छन् । महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई वर्षात्का बेला संयमता अपनाउन आग्रह गरिएको छ । 

यसैगरी, कञ्चनपुर महाकाली नगरपालिका–१० मा पानीको निकास नहुँदा केही घर डुबानमा परेको स्थानीय सुरेश गिरीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!