पर्खालमा जीप ठोक्किँदा ७ घाइते, दुईको अवस्था गम्भीर

Posted on: 03 Jul, 2018

असार १९, दार्चुला | महाकाली नगरपालिका–७ धापबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको म १ ज २६८ नं को जीप दुर्घटना हुँदा जीपमा सवार सात जना घाइते भएका छन् । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

जीप वडा नं ७ मा रहेको मालिकार्जुन मावि धापको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी सोही ठाउँका १६ वर्षीय प्रतिभा जोशी र ४५ वर्षीय रमेश रैखोला गम्भीर घाइते भएका छन् । 

घाइतेमध्ये पाँच जनालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि घर फर्काइएको छ भने गम्भीर घाइतेको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनीहरुलाई २४ घण्टासम्म लागि अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएका छन् । 

दुर्घटना के कति कारणले भयो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धानका लागि चालक भूपिराम महर र सहचालक नवीन विष्टलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । पर्खालमा ठोक्किएको जीपको अगाडिको भागमा क्षति पुगेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!